जनकपुरधाम ११ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–९ का दिनेश कुमार मरिक डोम समुदायबाट चिकित्सक बन्ने यात्रामा महत्वपूर्ण सफलता हासिल गरेका छन् । उनले नेपाल मेडिकल काउन्सिल (एनएमसी) को चिकित्सक दर्ता प्रमाणपत्र प्राप्त गर्न आवश्यक लाइसेन्सिङ परीक्षा उत्तीर्ण गरेका हुन् ।
मरिकले सेप्टेम्बर २१ र २२, २०२६ मा सञ्चालन भएको नेपाल मेडिकल काउन्सिलको लाइसेन्सिङ परीक्षामा सहभागिता जनाएका थिए । परीक्षाको नतिजाअनुसार उनी उत्तीर्ण भएको प्रमाणपत्रमा उल्लेख छ ।
डोम समुदायबाट चिकित्सक बन्ने मरिकको उपलब्धिलाई समुदायका लागि महत्वपूर्ण सामाजिक तथा शैक्षिक उपलब्धिका रूपमा हेरिएको छ । यसअघि उनी सरकारी छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्ने आफ्नो समुदायका पहिलो व्यक्तिका रूपमा समेत उल्लेख हुँदै आएका थिए ।
सामाजिक तथा आर्थिक रूपमा पछाडि पारिएको डोम समुदायबाट चिकित्सा शिक्षासम्म पुगेर चिकित्सकको लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्नु मरिकको व्यक्तिगत सफलतासँगै शिक्षा र सामाजिक रूपान्तरणको एउटा उदाहरणसमेत बनेको छ।
मरिकको यो उपलब्धिले अवसर र पहुँच पाएमा सीमान्तकृत समुदायका युवाले पनि उच्च शिक्षा तथा व्यावसायिक क्षेत्रमा उल्लेखनीय प्रगति गर्न सक्छन् भन्ने सन्देश दिएको छ। उनको सफलताले डोम समुदायका विद्यार्थीलाई उच्च शिक्षा हासिल गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।



