जनकपुरधाम १९ साउन । मधेस प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रमप्रति नागरिकको आकर्षण बढ्दै गएको देखिएको छ। स्वास्थ्य बिमा बोर्डका मधेस प्रदेश संयोजक रामेन्द्रप्रसाद कुशवाहाका अनुसार साउन १६ गतेसम्म प्रदेशभर ७ लाख ७९ हजार २६५ जना नागरिक स्वास्थ्य बिमामा आबद्ध भइसकेका छन्।
यो संख्या मधेस प्रदेशको कूल जनसंख्याको करिब १३ प्रतिशत हो। राष्ट्रिय जनगणना २०७८ अनुसार मधेसमा ६१ लाख १४ हजार ६ सय जनसंख्या रहेको छ।संयोजक कुशवाहाका अनुसार, प्रदेश सरकार र स्थानीय तहको समन्वयमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने प्रयास भइरहेको छ। उनले भने, “बिमा सेवामार्फत सरकारी स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न निरन्तर अभियान चलिरहेका छन्।”
सहिद परिवारका लागि निःशुल्क बिमा
प्रदेश सरकारको आर्थिक सहयोगमा मधेसका सहिद परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको छ। गत आर्थिक वर्षमा प्रदेश सरकारले ४० लाख रुपैयाँ विनियोजन गरी केही सहिद परिवारलाई बिमामा आबद्ध गराएको हो।तर, सबै सहिद परिवारलाई बिमामा समेट्न नसकिएको संयोजक कुशवाहाको भनाइ छ। “कतिपय परिवारको ठेगाना यकिन हुन नसक्नु, बसाइँसराइ हुनु र पहिचान प्रक्रिया पूरा हुन नसक्नु जस्ता कारणले समस्या भएको हो,” उनले स्पष्ट पारे।
जटिल रोगका लागि बिमा सीमा वृद्धि
सरकारले क्यान्सर, मुटु रोग, डायलासिस, हेड इन्जुरी, स्पाइनल इन्जुरी जस्ता जटिल रोगका बिरामीका लागि बिमा सीमा एक लाख रुपैयाँले बढाएर थप सुविधा उपलब्ध गराएको छ। प्रमाणका आधारमा थप उपचार खर्चका लागि यो व्यवस्था गरिएको हो।
नियमित नवीकरणमा सहुलियत
स्वास्थ्य बिमाको नियमित नवीकरणमा भुक्तानी शुल्कमा सहुलियत दिने व्यवस्था पनि गरिएको छ।
प्रदेश संयोजक कुशवाहाका अनुसार, स्वास्थ्य बिमा कार्यक्रम मधेसमा २०७३ सालदेखि सुरु गरिएको हो भने २०७५ सालदेखि आठवटै जिल्लामा विस्तार गरिएको थियो।
घरदैलो अभियान जारी
बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन प्रत्येक वडामा रहेका दर्ता सहयोगीहरूलाई घरदैलोमा पठाउने अभियान सञ्चालन गरिएको छ। “नागरिकले सहजै बिमा सेवामा सहभागी हुन सकून् भन्ने उद्देश्यले घरमै पुगेर जानकारी र दर्ता सेवा दिइँदैछ,” संयोजक कुशवाहाले जानकारी दिए। स्वास्थ्य बिमा कार्यक्रमले मधेस प्रदेशमा सर्वसाधारणदेखि सहिद परिवार, जटिल रोगी र आर्थिक रूपले कमजोर वर्गलाई सुलभ र सुरक्षित स्वास्थ्य सेवामा पहुँच दिलाउने महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। रासस



