जनकपुरधाम, ११ असोज । प्रत्येक साँझ विहान भान्सामा पाक्नुपर्ने हरियो तरकारी हुनसम्म महँगो भएको छ । हरियो तरकारीको मूल्य दोवरले आकाशिएपछि उपभोक्ताहरु विखलबन्दमा परेका छन भने बजार हेरविचार पुर्याउने निकाय बेखर जस्तै छन् ।
कुनै वस्तुको मूल्यमा २० प्रतिशत मुनाफा राखेर बेच्नुपर्ने कानून व्यवस्थालाई तरकारी बजारको क्षेत्रमा धज्जी नै उडाई रहेका छन् । थोक भाउँमा खासै फरक नपरेपनि खुद्रामा भने अचाकली मूल्य बढेपछि उपभोक्ताहरु हरियो तरकारी किन्न नसक्ने गरी चर्को मूल्यको मारमा परेका छन् ।
जनकपुरधामको पेठिया तरकारी बजारमा भेटिएकी सुधार कर्ण बजारभरी घुमेर महँगो मूल्य तिरदा समेत लगी हाल्ने जस्तो राम्रो र ताजा तरकारी नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो (तरकारीको मूल्यको त कुरै नगरौं, पहिले किलोमा आउने पैसाले अहिले पावमा मात्र आउँछन्, त्यो पनि पसले पिच्छेको फरकफरक मूल्यमा ।
बजार अनुगमन गर्ने नियमनकारी निकायले किने यो विषयमा वास्ता नगरेको होलान उहाँको प्रश्न थियो । हरियो तरकारीको थोक भाउँमा खासै घटबढ नभएपनि खुद्र्रामा चाँडपर्वलाई लक्षित गरी दोब्बरभन्दा बढी महँगिएको उपभोक्ताहरु बताउँछन् । अनुगमन एवं नियमन गर्ने निकाय मौन भएका कारण खुद्र व्यापारीले तरकारीको भाउ मनलाग्दो तरिकाले बढी मूल्य राखेर बेच्ने गरेकोले कतिपय उपभोक्ताहरु तिव्र गुनासो गरेका छन् ।
खुद्रा बजारमा तरकारीको मूल्य ५० देखि सयप्रतिशतसम्म बढेको उपभोक्ताहरु बताउँछन् । तर थोक बजारमा भने खासै असर परेको देखिदैन । जनकपुरधाम आलु ब्याज व्यवसायी संघका पूर्व अध्यक्ष अलाउद्दिन राइनले भने उपभोक्ताहरु पनि महँगोमा परेका छन् भने किसानहरुले पनि लागत अनुसारको मूल्य पाएको छैन । सबै विचोलियाले खाइ रहेका छन् । तरकारी उत्पादनमा धनुषा र महोत्तरी जिल्ला पछि परेकाले व्यापारीहरु भारतबाट साइकल, मोटरसाइकलमा तरकारी ल्याएर बढी मुनाफामा बेच्ने गरेकाले तरकारी महँगो भएको एकथरीको भनाई छ ।
पेठिया बजारका खुद्रा व्यापारी मनोज साहले हामीले खरीद गरेको तरकारी मध्ये झण्डै ५० प्रतिशत तरकारी कुहिने र सड्ने हुनाले महँगोमा बिक्री गर्न बाध्य भएको बताए । दोब्बर नाफा राखेर बेच्न पाइन्छ र ? भन्ने जिज्ञासामा व्यापारी साह भन्छन् थोक व्यापारीहरु थोरै नाफा राखेर राम्रो नराम्रो सबै मिलाएर बिक्री गर्छ, फेरी उपभोक्ताह रोजी रोजी तरकारी लिइन्छ । यो बेलामा चर्को मूल्य नलिएर के गर्ने त ? घाटा खानु भएन !
मौज्दात कानुनले कुनै पनि वस्तुमा २० प्रतिशतभन्दा बढी नाफा खाएर बेच्नलाई कालोबजारी मानिन्छ र त्यस्ता विरुद्ध दण्ड जरिवानाको समेत व्यवस्था गरेको छ । उपभोक्ता संरक्षण मञ्च जनकपुरधामका अध्यक्ष बटुकनाथ झाले व्यापारीले आफू खुशी मनमानी ढंगले बेच्दा पनि अनुगमन गर्ने निकाय मौन रहेका कारण तरकारीको मूल्यमा यो समस्या आएको हो । उहाँ भन्नुहुन्छ, हाम्रो कानूनमा कुनै कमजोरी छैन, कार्यान्वयन तहमा बसेका जिम्मेवार व्यक्तिहरुको इच्छाशक्ति नभएर हो ।
कालो बजारी समाजिक अपराध र सजाय ऐन २०३२ मा उत्पादनमूल्य भन्दा उपभोक्तासम्म आईपुग्दा २० प्रतिशतभन्दा बढी मूल्य बढाएर बेच्न नपाउने उल्लेख गरिएको छ । तर सयप्रतिशतसम्म मूल्य बढाएर बिक्री गरिरहेका कुन व्यापारीलाई कारवाही भएको छ त ? पीडित उपभोक्ताहरु बताउँछनु । तर व्यापारीको भनाई पनि मान्ने हो भने भारतबाट तरकारी ल्याउँदा कृषि शुल्क र अग्रिम कर शुल्क गरी १४ प्रतिशत भन्सार लाग्ने भएपछि तरकारी महँगोमा बेच्नुपर्ने बाध्यता रहेको छ ।
मधेशको जिल्लामा अत्यधिक तरकारी उत्पादन भएपनि आर्थिक वर्ष २०८०/०८१ मा भारतबाट भिठामोड नाका भएर ७५ करोड २२ लाख ८८ हजार मूल्य बराबरको ३३ हजार ८ सय ८७ मेटन हरियो तरकारी नेपाल भित्रिएको छ । अनुगमन गर्ने निकायले बजार अनुगमन गरी चर्को मूल्यमा तरकारी बेच्ने व्यापारीलाई कारवाही गर्न उपभोक्ताहरुले माँग गरेका छन् ।

