वीरेन्द्र कर्ण
जनकपुरधाम, १९ चैत । धनुषा र सिरहा जिल्लालाई छुट्याउने कमला नदीको बगरमा किसानहरूले उत्पादन गर्ने तरबुजा र मौसमी तरकारीले बजार नपाउँदा त्यहाँका किसान चिन्तित भएका छन्।
सिरहाको पटेर्वाका ५० वर्षीय हेमकुमार मुखियाले ऋण काढेर कमला नदीको बलौटे जमिनमा तरबुजा, लौका, करेला, घिरौला, भिण्डी जस्ता तरकारीको खेती गरी आर्थिक लाभ लिन खोज्दा उत्पादनले बजार नपाउँदा ओझेलमा परेका छन्।
“एकातिर बजारको अभाव छ भने अर्कोतिर भारतीय उत्पादन निर्वाध रूपमा भित्रिन्छ। हामीले उत्पादन गरेको सामान बिक्री नहुँदा लगानीसमेत उठ्न सकेको छैन,” मुखियाले पीडा व्यक्त गरे। “स्थानीय उत्पादनको बजारीकरण गर्ने माध्यम नहुँदा आर्थिक समस्या भोग्दै आएका छौं। गत वर्ष १० कट्ठा जमिनमा गरिएको खेतीबाट करिब १० लाख रुपैयाँ नाफा भएपछि यस वर्ष १५ कट्ठामा विस्तार ग¥यौं, तर बजारको समस्याले अपेक्षित मुनाफा हुन सकेन,” उनले भने।
मुखिया मात्र नभई सो क्षेत्रका करिब एक हजार किसानहरूले कमला नदीको बगरमा व्यावसायिक रूपमा प्रत्येक वर्ष तरबुजा तथा मौसमी तरकारी खेती गर्दै आएका छन्।
भूमिहीन किसानहरूका लागि कमला नदीको बगर आर्थिक आम्दानीको भरपर्दो माध्यम भए पनि बजारको समस्याले बिस्तारै किसानहरू यस व्यवसायबाट पछि हट्दै गएको अर्का किसान फेकन सदाले बताए।
दक्षिणमा जयनगरदेखि उत्तरमा बन्दीपुरसम्म कमला नदीको दायाँ(बायाँ किनारमा रहेको बलौटे जमिनमा करिब एक हजार भूमिहीन किसानहरूले करिब दुई हजार बिघा क्षेत्रफलमा तरबुजा लगायत मौसमी तरकारी खेती गर्दै वार्षिक करिब १५ करोड रुपैयाँ बराबरको कारोबार गर्दै आएका अर्का किसान राजेन्द्र मुखियाले बताए।
उनी १५ वर्षदेखि निरन्तर यो व्यवसाय गर्दै आएका छन्। “ग्राहकहरू भारतीय उत्पादनतर्फ आकर्षित हुँदा हाम्रो उत्पादनले बजार पाउन सकेको छैन। वर्षभरि मेहनत गरेर उत्पादन गर्छौं, बिक्री पनि हुन्छ, आम्दानी पनि राम्रै हुन्छ। त्यही आम्दानीले परिवार चलाउँछौं, तर अहिले दिनभरि कुर्दा पनि अपेक्षित ग्राहक आउँदैनन्, जसले गर्दा लगानीसमेत उठाउन कठिन भएको छ,” उनले भने।
कमलाको बगरमा पटेर्वा घाट, मलहनिया, कठाल, फुलवरिया, नर्गी टोल लगायतका क्षेत्रका किसानहरूले तरबुजा तथा मौसमी तरकारी खेती गर्दै आएका छन्। किसान घुरण मुखियाका अनुसार बजार अभावसँगै भारतीय उत्पादनको प्रतिस्पर्धा र बाढीको जोखिमले पनि समस्या थपेको छ। वर्षा भएपछि कमला नदीमा आउने बाढीले बाली बगाउने र बालुवाले पुर्ने जोखिम रहने उनले बताए। “यो खेती खर्चिलो नभए पनि जोखिमपूर्ण छ,” उनले भने।
पटेर्वाका किसान नारायण मुखियाले आफ्ना उत्पादन ढल्केवरमा बिक्रीका लागि लैजाँदा त्यहाँ पहिलेदेखि नै भारतीय तरबुजा बिक्रीमा रहेकाले ‘बोहनी’ समेत नगरी फर्किनुपरेको बताए।
किसानहरूले सहुलियत दरमा ऋण, मलखादको व्यवस्था तथा बजार व्यवस्थापन गर्न सरकारसँग माग गरेका छन्। यस क्षेत्रका नागरिकहरूमा स्थानीय उत्पादनभन्दा आयातित वस्तुप्रति आकर्षण बढ्दै जाँदा बजार अभावले किसानहरू आर्थिक मारमा पर्दै गएका छन्।

