जनकपुरधाम, २५ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले संघीय नीतिनियमका कारण प्रदेशमा उद्योग व्यवस्थापन गर्न कठिनाइ भइरहेको बताएका छन् । उनले वर्तमान संरचनामा उद्योग स्थापना र सञ्चालनका लागि आवश्यक वातावरण पूर्ण रूपमा अनुकूल हुन नसकेको उल्लेख गर्दै यसले लगानीकर्तालाई आकर्षित गर्न चुनौती सिर्जना गरेको धारणा व्यक्त गरे ।
मंगलबार उद्योग वाणिज्य महासंघ मधेश प्रदेशद्वारा आयोजित सातौँ प्रदेशसभा निर्वाचन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशमा आन्तरिक तथा बाह्य लगानीकर्ताको अभाव रहेको बताए । विशेषगरी विदेशी लगानीकर्ताका लागि संघीय सरकारका नीतिनियम जटिल र झन्झटिलो रहेको उनको भनाइ थियो । “संघीय नीतिका कारण उद्योग सञ्चालन सहज छैन, यसतर्फ सुधार आवश्यक छ,” उनले भने ।
मुख्यमन्त्री यादवले मधेश प्रदेशलाई औद्योगिक प्रदेशका रूपमा विकास गर्न सकिने सम्भावना औंल्याउँदै उद्योगी व्यवसायीलाई लगानी गर्न आह्वान गरे । “हामीसँग प्राकृतिक स्रोतसाधन छैन्, प्राकृतिक पर्यटनको आकर्षण पनि छैन । यहाँ कृषि, धार्मिक पर्यटन र उद्योगका माध्यमबाट मधेश प्रदेशलाई समृद्ध बनाउन सकिन्छ,” उनले स्पष्ट पारे । उनले प्रदेश सरकार उद्योगमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको जनाउँदै लगानीकर्तालाई निर्धक्क भएर अघि बढ्न आग्रह गरे ।उनका अनुसार मधेश प्रदेश कृषि उत्पादनका हिसाबले महत्वपूर्ण क्षेत्र भए पनि औद्योगिक विकास बिना दीगो आर्थिक प्रगति सम्भव छैन । त्यसैले कृषि उत्पादनलाई उद्योगसँग जोडेर मूल्य अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए । यसले रोजगारी सिर्जना गर्नुका साथै प्रदेशको आर्थिक आधारलाई मजबुत बनाउने विश्वास उनले व्यक्त गरे ।
कार्यक्रममा उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक कुमार टेवानीले आफ्नो कार्यकालको समीक्षा गर्दै उद्योगी व्यवसायीहरूले भोग्दै आएका समस्या र चुनौतीबारे विस्तृत जानकारी गराए । उनले मधेश प्रदेशमा उद्योग सञ्चालनका क्रममा नीतिगत अस्पष्टता, पूर्वाधार अभाव, वित्तीय पहुँचको कमी र प्रशासनिक जटिलता प्रमुख समस्याका रूपमा रहेको उल्लेख गरे ।
अध्यक्ष टेवानीले प्रदेशको औद्योगिक विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए । “तीनै तहका सरकारबीच सहकार्य र स्पष्ट नीति बिना उद्योग क्षेत्र अगाडि बढ्न सक्दैन,” उनले भने । उनले उद्योगीहरूको मनोबल बढाउन स्थिर नीति, सहज प्रशासनिक प्रक्रिया र लगानीमैत्री वातावरण अपरिहार्य रहेको पनि जोड दिए ।
कार्यक्रममा वक्ताहरूले मधेश प्रदेशलाई औद्योगिक रूपमा अघि बढाउन नीतिगत सुधार, पूर्वाधार विकास, लगानी प्रवद्र्धन र सरकारी सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् । उद्योगमैत्री वातावरण निर्माण गर्न सके मधेश प्रदेश आर्थिक रूपमा आत्मनिर्भर बन्न सक्ने विश्वास व्यक्त गरिएको थियो ।

