काठमाडौं,२९ वैशाख गते । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा मधेश प्रदेशमा ३१ हजारभन्दा बढी विद्यार्थी अवर्गीकृत (नन–ग्रेडेड) भएका छन् । प्रदेशबाट परीक्षामा सहभागी ७६ हजार ३१७ विद्यार्थীমध्ये ४४ हजार ५९२ विद्यार्थी मात्र ग्रेडेड भएका छन् भने ३१ हजार ७२५ विद्यार्थी नन–ग्रेडेड भएका हुन् ।
यस वर्ष देशभर ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्, जुन गत वर्षको तुलनामा ४.१७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ६१.८१ प्रतिशत विद्यार्थी मात्र ग्रेडेड भएका थिए । राष्ट्रिय रूपमा नतिजामा सुधार देखिए पनि मधेश प्रदेशमा ठूलो संख्यामा विद्यार्थी अवर्गीकृत हुनु भने चिन्ताको विषय बनेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष ४ लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये सबैभन्दा धेरै ४८ हजार ३९२ विद्यार्थीले ३.६० देखि ४.०० सम्मको जीपीए ल्याएका छन् । त्यस्तै ८० हजार ३७२ विद्यार्थीले ३.२० देखि ३.६०, ९४ हजार २२२ विद्यार्थीले २.८० देखि ३.२० र ५५ हजार ९७७ विद्यार्थीले २.४० देखि २.८० जीपीए प्राप्त गरेका छन् ।
प्रदेशगत तथ्यांकअनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ७७ हजार ११३ विद्यार्थी ग्रेडेड भएका छन् भने मधेशमा ४४ हजार ५९२ विद्यार्थी ग्रेडेड भएका छन् । तर अवर्गीकृत विद्यार्थीको संख्या पनि मधेशमै अत्यधिक देखिएको छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारी का अनुसार सरकारले दिएको निर्देशनअनुसार यस वर्ष २९ दिनमै नतिजा सार्वजनिक गरिएको हो । “परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गर्न सम्भव भयो,” उनले बताए ।
यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजाको विश्वसनीयतामाथि प्रश्न उठे पनि शिक्षकहरूले मर्यादित ढंगले मूल्यांकन गरेको बोर्डको दाबी छ ।
शिक्षाविद् विद्यानाथ कोइराला ले नतिजा सुधार हुनुमा तीन मुख्य कारण रहेको बताएका छन् । उनका अनुसार धेरै विद्यालयले अतिरिक्त कक्षा सञ्चालन गर्नु, परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण हुनु र विद्यार्थीलाई पहिल्यै प्रश्नपत्रको मोडेल उपलब्ध गराइनुले नतिजामा सुधार आएको हो ।
तर उनले मधेशसहित देशभर अवर्गीकृत भएका १ लाख ४६ हजारभन्दा बढी विद्यार्थीको भविष्यबारे सरकारले गम्भीर योजना बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । “अनुत्तीर्ण भएका विद्यार्थीलाई के गर्ने ? उनीहरूलाई सीप र रोजगारीसँग कसरी जोड्ने भन्नेमा राज्यले सोच्नुपर्छ,” उनले भने ।
बोर्डले अवर्गीकृत विद्यार्थीका लागि असार १ गतेदेखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन गर्ने जनाएको छ । साथै नतिजामा चित्त नबुझेका विद्यार्थीलाई जेठ १ देखि ७ गतेसम्म पुनर्योगका लागि आवेदन दिने व्यवस्था गरिएको छ ।



