जनकपुरधाम, ६ जेठ । भारत सरकारको आर्थिक सहयोगमा मधेश प्रदेशको सप्तरी जिल्लामा निर्माण सम्पन्न भएको आधुनिक विद्यालय भवन एक समारोहबीच उद्घाटन गरिएको छ ।
सप्तरीको सुरुङ्गा नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालय को नवनिर्मित भवनको उद्घाटन वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावास का महावाणिज्यदूत देवी सहाय मीना तथा सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरी ले संयुक्त रूपमा गरेका हुन् ।

उक्त भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत निर्माण गरिएको हो । विद्यालय भवनसँगै आवश्यक शैक्षिक पूर्वाधारसमेत विकास गरिएको जनाइएको छ । परियोजना सुरुङ्गा नगरपालिकामार्फत कार्यान्वयन गरिएको हो ।
वि.सं. २००८ (सन् १९५१) मा स्थापना भएको श्री जनता माध्यमिक विद्यालय ले हाल प्रारम्भिक बालविकास (ईसीडी) देखि कक्षा १२ सम्म अध्ययन–अध्यापन गराउँदै आएको छ । विद्यालयमा हाल करिब ६२७ विद्यार्थी अध्ययनरत रहेका छन्, जसमध्ये ३५८ जना छात्रा छन् ।

उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा सरोकारवालाहरूले शिक्षा क्षेत्रमा भारत सरकारबाट प्राप्त सहयोगको उच्च प्रशंसा गरेका थिए । उनीहरूले नवनिर्मित भवनले विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित र प्रभावकारी बन्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वक्ताहरूले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा बहुआयामिक सम्बन्धलाई स्मरण गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा भारत सरकारले निरन्तर सहकार्य गर्दै आएको उल्लेख गरेका थिए ।
उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत सञ्चालन भइरहेका यस्ता योजनाले स्थानीय तहमा आधारभूत पूर्वाधार विकासलाई गति दिनुका साथै शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताइएको छ । साथै, यस्ता सहकार्यले नेपाल सरकारको विकास र समृद्धिको अभियानलाई समेत थप बल पुगेको सरोकारवालाहरूको भनाइ थियो ।



