जनकपुरधाम, २४ असोज । ‘सशक्त महिला, समृद्ध समाज’ भन्ने नाराका साथ जानकी महिला जागरण समाज (जवास) को ३३औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य, सीप विकास र आर्थिक आत्मनिर्भरताका क्षेत्रमा संस्थाले पु¥याएको योगदानको चर्चा गरिएको छ।
वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मधेश प्रदेशसभाका सभामुख रामअशिष यादवले जानकी महिला जागरण समाजले प्रदेशका विभिन्न जिल्लामा महिला स्वास्थ्य, शिक्षा, सीपमूलक तालिम तथा जीविकोपार्जनका क्षेत्रमा उल्लेखनीय काम गरेको बताए। महिलाको विकासबिना देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै उनले महिला सशक्तीकरणलाई सबै तहका सरकार र सामाजिक संघसंस्थाले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

जवासकी अध्यक्ष मन्दा कर्णको अध्यक्षतामा भएको सो कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेशकुमार कर्णले राज्यको पहुँच पुग्न नसकेका समुदाय र क्षेत्रमा संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । विशेषगरी दलित समुदायको उत्थान र महिलाको जीविकोपार्जनमा संस्थाले पु¥याएको योगदान प्रशंसनीय रहेको उनको भनाइ थियो।
कर्णले संस्थाले किशोरीलाई बालविवाहबाट जोगाउन छात्रालाई साइकल वितरण, दलित किशोरी तथा महिलालाई स्वरोजगारमूलक तालिम र नयाँ व्यवसाय सञ्चालनका लागि सहयोगजस्ता कार्यक्रम अघि बढाएको जानकारी दिए। यस्ता कार्यक्रमबाट सयौँ महिला तथा किशोरी लाभान्वित भएको उल्लेख गर्दै उनले शिक्षा र रोजगारीका अवसरले महिलाको आत्मनिर्भरता बढाउन सहयोग पुग्ने बताए।
त्यस्तै, दलित पत्रकार संघका मधेश प्रदेश अध्यक्ष कैलाश दासले दलित, सीमान्तकृत तथा विपन्न महिलाको जीवनस्तर सुधारमा संस्थाका कार्यक्रम महत्त्वपूर्ण रहेको बताए। महिलालाई स्वरोजगार र आयआर्जनसँग जोड्ने पहलले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनुका साथै शोषण, दमन र परनिर्भरताविरुद्ध आवाज उठाउन सक्षम बनाउने उनको भनाइ थियो।
कार्यक्रममा जवासका कार्यकारी निर्देशक राजन नेपार्ल, इन्दिरा सिंहलगायतले संस्थाका गतिविधि तथा आगामी योजनाबारे धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन सुष्मिता ठाकुरले गरेकी थिइन् ।



