जनकपुरधाम, २ कात्तिक । जनकपुरधामस्थित प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा विगत १८ वर्षमा २ लाख ५१ हजार ४७९ वटा बोकाबली प्रदान गरिएको तथ्यांकले देखाएको छ । उपलब्ध विवरणअनुसार आर्थिक वर्ष नभई विक्रम संवत् २०६६ देखि २०८३ सम्मको दसैँमा मन्दिरमा उक्त संख्यामा बोकाबली दिइएको हो ।
यस वर्ष २०८३ मा राजदेवी मन्दिरमा १४ हजार ८९१ वटा बोकाबली प्रदान गरिएको छ । गत वर्ष २०८२ मा १४ हजार ९०३ वटा बोकाबली दिइएकोमा यस वर्ष १२ वटा कमी आएको हो ।
उपलब्ध तथ्यांकअनुसार २०८० सालमा सबैभन्दा बढी १५ हजार २५२ वटा बोकाबली प्रदान गरिएको थियो । त्यसैगरी, २०८१ सालमा १५ हजार ४ वटा र २०८२ सालमा १४ हजार ९०३ वटा बोकाबली दिइएको थियो । पछिल्ला वर्षको तथ्यांक हेर्दा बोकाबलीको संख्या वर्षअनुसार घटबढ हुँदै आएको देखिन्छ ।
२०६६ सालमा ११ हजार ७९३ वटा बोकाबली प्रदान गरिएको थियो । २०६७ सालमा यो संख्या बढेर १३ हजार ५५२ पुगेको थियो भने २०६८ सालमा १२ हजार ६५२ मा झरेको थियो । २०६९ देखि २०७१ सालसम्म प्रत्येक वर्ष १४ हजार ८६२ वटा बोकाबली प्रदान गरिएको विवरणमा उल्लेख छ ।
२०७२ सालमा १४ हजार ६२७, २०७३ सालमा १३ हजार ८०२ र २०७४ सालमा १२ हजार ३०७ वटा बोकाबली दिइएको थियो । २०७५ र २०७६ सालमा समान १४ हजार ९१७ वटा बोकाबली प्रदान गरिएको तथ्यांक छ ।
त्यस्तै, २०७७ सालमा बोकाबलीको संख्या घटेर ८ हजार ९६८ मा सीमित भएको थियो । त्यसपछि २०७८ सालमा १४ हजार ३६६ र २०७९ सालमा १४ हजार ९४२ वटा बोकाबली प्रदान गरिएको थियो ।
राजदेवी मन्दिरमा बडादसैँको महाष्टमीका अवसरमा बोकाबली दिने परम्परा रहिआएको छ । मनोकामना पूरा हुने विश्वासमा श्रद्धालुहरूले भाकलअनुसार राजदेवी मातालाई बोका चढाउने गर्छन् । यस अवसरमा धनुषासहित मधेश प्रदेशका विभिन्न जिल्ला तथा भारतको बिहारबाट समेत श्रद्धालुहरू जनकपुरधाम आउने गरेका छन् ।
यस वर्ष आइतबार राति ८ बजेर ३१ मिनेटमा सुरु भएको बोकाबली सोमबार बिहान ३ बजेर ५३ मिनेटमा सम्पन्न भएको थियो । बोकाबली व्यवस्थापनको जिम्मेवारी महावीर युवा कमिटीले सम्हाल्दै आएको छ ।
मन्दिरमा बोकाबलीको संख्या धार्मिक आस्था र परम्परासँग जोडिएको छ । उपलब्ध १८ वर्षको तथ्यांकले राजदेवी मन्दिरमा प्रत्येक वर्ष हजारौँ श्रद्धालुले भाकल पूरा भएपछि बोकाबली दिने गरेको देखाउँछ ।



