जनकपुरधाम, १६ जेठ । मधेश प्रदेश सरकारको गौरवको योजना अन्तरगत जनकपुरधाममा इलेक्ट्रिक शवदाह गृह निर्माण हुन लागेको छ ।

शुक्रवार उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले पत्रकार सम्मेलन गरी मधेश सरकारको गौरवको योजना अन्तरगत जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित स्वर्गद्वारी भित्रको दोस्रो कित्तामा इलेक्ट्रिक शवदाह गृह निर्माण हुन लागेको बताउनुभयो । उहाँले सो योजनाका लागि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र केही वडा अध्यक्षहरुबीच सहमति निर्णय समेत भई सकेको बताउनुभयो ।
२ वर्ष भित्रमा इलेक्ट्रिक शवदाह गृह निर्माण हुने छ मन्त्री यादवले भन्नुभयो —‘यसै साता टेण्डर निकाल्ने छौं । सोको लागि मन्त्रालयले ११ करोड रुपैया छुट्याइएको छ ।’

मन्त्री यादवले दुई वर्षभित्रमा इलेक्ट्रिक शवदाह गृह निर्माण भई मन्त्रालयले जनकपुरधाम उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने छ भने उपमहानगरपालिकाले सोको सञ्चालनका लागि एउटा कार्यविधि निर्माण गरी त्यसको सञ्चालनको जिम्मा स्वर्गद्वारी समितिलाई दिइने सहमति भएको बताउनु भएको छ ।

