काठमाडौं, १३ साउन । सरकारले विभिन्न ९ वटा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले विधेयक स्वीकृतिसहित विभिन्न प्रशासनिक र नीतिगत निर्णय गरिएको जानकारी दिए।
बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवा, शर्त तथा सुविधा सम्बन्धी ऐन–२०५३ संशोधन, खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनको संशोधन तथा एकीकरण, संक्रामक पशुरोग नियन्त्रण, राहदानी ऐन–२०७६ संशोधन, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण पहिलो संशोधन, बालश्रम निषेध तथा नियमन, आन्तरिक वायुसेवाको दायित्व, मेलमिलाप सम्बन्धी ऐन–२०६८ संशोधन तथा निजामती कर्मचारी सम्बन्धी ऐन–२०१९ संशोधनका विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको छ।
त्यसैगरी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा निजले तोकेको अधिकृतलाई विदेशी विनियमसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरिएको छ।
मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका ऐडराज दाहाललाई मनोनयन गरेको छ भने प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) छैटौं संशोधन नियमावली–२०८३ पनि स्वीकृत गरेको सरकारले जनाएको छ।



