जनकपुरधाम २८ जेठ । बढ्दो गर्मीलाई मध्यनजर गरी मधेश प्रदेशका केही पालिकाहरुका विद्यालयहरुमा गर्मी विदा दिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिनका लागि बन्द गरेको छ । उपमहानगरपालिकाका सबै विद्यालयहरूमा पठन पाठन बन्द भएको जनाएको छ ।
वर्षे बिदाबाट कट्टा हुने गरि विद्यालयहरू बन्द भएको शिक्षा तथा खेलकुद विकास शाखाकाका प्रमुख धीरेन्द्र लाल कर्णले जानकारी दिनु भएको छ ।
दिउँसाको तापक्रम ४० डिग्री सेल्सियस भन्दा माथि पुग्नुका साथै गर्मीको अनुभूति ५० डिग्रीको हुने गरेको छ । विगत केही दिन यता यो तापक्रम बढ्ने क्रम दिनहुँ जस्तो हुने गरेको छ ।
खास गरेर अत्यधिक गर्मीका कारणले शरीरको विभिन्न भागमा घाउ खटिरा आउने, पेट दुख्ने, वाक वाक लाग्ने, टाउको दुख्ने तथा खाना नरुच्ने जस्ता समस्याहरू आउने गरेको छ । गर्मी तथा घामबाट जोगिनका लागि अत्यधिक मात्रामा पानी तथा झोलिलो पदार्थ सेवन गर्नु पर्ने सुझाव चिकित्सकहरूले दिनु भएको छ ।

