जनकपुरधाम, १ असार ।
मधेश प्रदेशका सांसद राजेन्द्र प्रसाद चौधरीले दलित बालबालिकालाई शिक्षामा टिकाइ राख्न राज्यले आवासीय व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ।
मधेश प्रदेशसभाको पाँचौँ अधिवेशनमा बोल्दै सांसद चौधरीले दलित समुदायका धेरैजसो बालबालिका विद्यालय जान सुरु त गर्छन्, तर विविध समस्याका कारण बीचमै पढाइ छाड्न बाध्य हुने गरेको बताउनुभयो।
उहाँले भन्नुभयो, “दलित विद्यार्थीहरूसँग जुत्ता छैनन्, जाडोमा लगाउने लुगा छैनन्। यस्तो स्थितिमा उनीहरूलाई नियमित विद्यालय जान बाधा हुन्छ।”
चौधरीले कम्तीमा पनि दलित बालबालिकाका लागि राज्यले आवासीय सुविधा उपलब्ध गराएमा उनीहरूको शिक्षामा क्रमिक सुधार आउने विश्वास व्यक्त गर्नुभयो।
मधेशमा सबैभन्दा बढी संख्यामा दलित समुदाय बसोबास गर्दासमेत उनीहरूको साक्षरतादर अत्यन्त न्यून रहेको उल्लेख गर्दै सांसद चौधरीले राज्य पक्षबाट दलित समुदायका लागि शिक्षा आर्जनको सहज वातावरण निर्माण गर्न जोड दिनुभयो।

