कैलास दास । स्थानीय र प्रदेश निर्वाचनको मिति सार्वजनिक भइसकेको छैन । तर जनकपुरधामका चोक, चौतारा, चियापसल र गल्लीहरूमा चुनावी बहसको ताप बढ्न थालेको छ । को उम्मेदवार बन्ला, कसले टिकट पाउला, कसले स्वतन्त्र उम्मेदवारी देला र कसको पक्षमा जनमत बनला-यस्ता प्रश्नले सार्वजनिक संवादमा ठाउँ पाउन थालेका छन् । चियाको चुस्कीसँगै राजनीतिक भविष्यको हिसाब भइरहेको छ भने साँझपखका जमघटमा सम्भावित उम्मेदवारहरूको चर्चा चुलिन थालेको छ ।
तर यसपटकको चुनावी बहस एउटा गम्भीर प्रश्नबाट सुरु हुनुपर्छ-जनकपुरधामलाई अब कस्तो नेतृत्व चाहिएको छ ?
कसले चुनाव जित्छ भन्ने प्रश्नभन्दा महत्त्वपूर्ण प्रश्न हो, कसले जनकपुरधामको भविष्य बदल्ने स्पष्ट दृष्टि राख्छ ? कसले विगतका कमजोरीबाट पाठ सिकेको छ ? कसले वर्तमानका समस्यालाई बुझेर भविष्यको सम्भावना देख्न सक्छ ? र सबैभन्दा महत्त्वपूर्ण, कसले जनताको अपेक्षालाई चुनावी नारामा होइन, कामको योजनामा रूपान्तरण गर्न सक्छ ?
निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, समाजले आफ्नो भविष्यबारे निर्णय गर्ने अवसर पनि हो । त्यसैले उम्मेदवारको अनुहार, दलगत आबद्धता, पुरानो परिचय र चुनावी प्रभावभन्दामाथि उठेर उसको विचार, कार्ययोजना, इमानदारी र जवाफदेहितामाथि बहस हुन आवश्यक छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई केवल सडकमा देखिएको आक्रोशका रूपमा बुझेर पुग्दैन । त्यसले नेपाली समाज, विशेषगरी नयाँ पुस्ताको मनमा जम्मा भएका असन्तुष्टि र अपेक्षालाई सार्वजनिक बहसको केन्द्रमा ल्याएको छ । युवाले कस्तो राज्य चाहेका छन ? कस्तो शासन व्यवस्था खोजिरहेका छन ? किन उनीहरू अवसरका लागि विदेशिन बाध्य छन ? किन सार्वजनिक सेवाप्रति विश्वास कमजोर हुन्छ ? र किन राजनीति जनताको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याउन असफल भएको अनुभूति फैलिरहेको छ ? यी प्रश्नको उत्तर खोज्नु आजको राजनीतिको पहिलो दायित्व हो ।
तर विडम्बना, आन्दोलनको सन्देशलाई गहिरिएर बुझ्नेभन्दा त्यसैको भावनात्मक प्रभावलाई चुनावी लाभमा बदल्ने प्रवृत्ति देखिन थालेको छ । उम्मेदवार बन्ने आकांक्षा राख्नु लोकतान्त्रिक अधिकार हो । तर उम्मेदवार बन्ने घोषणा गर्नु र नेतृत्व गर्न योग्य दृष्टि राख्नु एउटै कुरा होइन । पदको आकांक्षा राख्नुअघि आफूले नेतृत्व गर्न खोजेको समाजको वर्तमान अवस्था, सम्भावना र भविष्यका चुनौतीबारे आत्मसमीक्षा गर्नुपर्छ । आफूलाई उम्मेदवार घोषणा गर्नेले जनतालाई केवल आफ्नो परिचय होइन, आफ्नो विचार दिन सक्नुपर्छ । उसले केवल जित्ने इच्छा होइन, जितेपछि गर्ने कामको स्पष्ट खाका प्रस्तुत गर्नुपर्छ । किनकि अब जनतालाई आश्वासनको अर्को पोको होइन, भरोसा गर्न सकिने आधार चाहिएको छ ।
हामी यस्तो समयमा बाँचिरहेका छौँ, जहाँ संसारका घटनाहरू घरको कोठादेखि चियापसलसम्म आइपुग्छन् । सामाजिक सञ्जाल र इन्टरनेटले भौगोलिक दूरी घटाएका छन् । जनकपुरधामको एउटा युवाले संसारका विकसित सहरको सार्वजनिक यातायात हेर्न सक्छ, शिक्षाको गुणस्तर तुलना गर्न सक्छ, रोजगारीका अवसर बुझ्न सक्छ र आफ्नै नगरको सेवासुविधासँग ती अनुभव दाँज्न सक्छ । उसले विदेशका सहरमा सडक कसरी व्यवस्थित छन्, सार्वजनिक स्थल कसरी संरक्षण गरिएका छन्, फोहोर व्यवस्थापन कसरी हुन्छ, पर्यटकलाई कसरी आकर्षित गरिन्छ र स्थानीय अर्थतन्त्रलाई कसरी बलियो बनाइन्छ भन्ने कुरा जान्न सक्छ । त्यसैले अब जनकपुरधामको विकासलाई छिमेकी पालिकासँग तुलना गरेर मात्र पुग्दैन । विश्वका सहरले हासिल गरेका उपलब्धि र अभ्यासबाट पनि सिक्नुपर्छ ।
फ्रान्सदेखि ग्रीससम्मका देशमा महँगी, श्रमिक अधिकार, सार्वजनिक सेवा, भ्रष्टाचार र सरकारका नीतिविरुद्ध हुने प्रदर्शनले एउटा साझा प्रश्न उठाउँछन-राज्यको नीति र जनताको जीवनबीचको दूरी कसरी घटाउने ? प्रत्येक देशको परिस्थिति फरक भए पनि नागरिकका आधारभूत अपेक्षा धेरै हदसम्म समान छन् । सम्मानजनक जीवन, गुणस्तरीय शिक्षा, रोजगारी, सामाजिक सुरक्षा र जवाफदेही शासन। नेपालका मतदाताले पनि यिनै विषयमा प्रश्न गर्न थालेका छन् ।
अब सडकको अवस्था देखाएर मात्र विकासको दाबी पुग्दैन । कुनै योजना अधुरो रह्यो भने त्यसको कारण, समयसीमा र समाधान बताउनुपर्छ । विगतको प्रतिनिधिले काम गर्न दिएन, सरकारले बजेट दिएन वा अधिकार पर्याप्त भएन भनेर दोष अरूमाथि सार्दैमा नागरिकको विश्वास प्राप्त हुँदैन । अधिकार र स्रोतको अभाव वास्तविक समस्या हुन सक्छन्, तर त्यसलाई समाधान गर्ने पहल, समन्वय र वैकल्पिक उपाय पनि नेतृत्वले नै खोज्नुपर्छ। निर्वाचन जित्नका लागि जनताको समस्या गन्नु आवश्यक छ, तर समस्या गनेर मात्र समाधान हुँदैन। समस्याको जरो पहिचान गर्ने, प्राथमिकता निर्धारण गर्ने, स्रोत जुटाउने र परिणाम देखाउने क्षमता नै नेतृत्वको वास्तविक परीक्षा हो ।
जनकपुरधाम केवल एउटा उपमहानगरपालिका होइन । यो मिथिलाको धार्मिक आस्था, सांस्कृतिक परम्परा र ऐतिहासिक गौरवको केन्द्र हो । जानकी मन्दिरको आध्यात्मिक महत्त्व, मिथिलाको लोकसंस्कृति, विवाहपञ्चमीको आकर्षण र मधेश प्रदेशको राजधानीको हैसियतले यस सहरलाई विशिष्ट पहिचान दिएका छन् । तर पहिचान हुनु र त्यसलाई विकासको आधार बनाउन सक्नु फरक कुरा हुन् ।
जनकपुरधामको नाम संसारसम्म पुग्ने सम्भावना छ, तर त्यसअनुसारको पूर्वाधार, व्यवस्थित सहरी सेवा, पर्यटकमैत्री वातावरण र आर्थिक गतिविधि विस्तार गर्ने काम कति प्रभावकारी भएको छ ? धार्मिक पर्यटकको आगमनलाई स्थानीय रोजगारीसँग कसरी जोड्ने ? यहाँ आउने पर्यटकले केवल मन्दिर दर्शन गरेर फर्कने होइन, मिथिलाको कला, संस्कृति, खानपान, हस्तकला र जीवनशैली अनुभव गर्न सक्ने वातावरण कसरी बनाउने ? यी प्रश्नको उत्तर खोज्नु आवश्यक छ ।
राजधानीको नामले मात्र सहर राजधानी बन्दैन । राजधानीको गरिमा व्यवस्थित सडक, स्वच्छ वातावरण, प्रभावकारी सार्वजनिक सेवा, सुरक्षित आवागमन, गुणस्तरीय शिक्षा, स्वास्थ्य सुविधा र आर्थिक गतिविधिले निर्माण गर्छ । धार्मिक सहरको परिचय पनि मन्दिरको उपस्थितिले मात्र पूर्ण हुँदैन; सम्पदाको संरक्षण, सरसफाइ, शान्ति, व्यवस्थापन र सांस्कृतिक जीवन्तताले त्यसलाई अर्थ दिन्छ । संघीय सरकारले पर्याप्त ध्यान दिएन भन्ने गुनासो विगतदेखि सुनिँदै आएको छ । प्रदेश र स्थानीय तहबाट पनि अपेक्षाअनुसार परिवर्तन नभएको अनुभूति नागरिकमा छ । तर अब जनकपुरधामको भविष्यलाई दोषारोपणको चक्रमा अल्झाएर राख्न सकिँदैन । तीनै तहका सरकारबीच समन्वय, उपलब्ध अधिकारको सदुपयोग र दीर्घकालीन योजनाको कार्यान्वयन आवश्यक छ ।
संघीयतापछि जनकपुरधाम उपमहानगरपालिकाले दुईवटा स्थानीय निर्वाचनमार्फत नेतृत्व परिवर्तनको अनुभव गरेको छ । २०७४ सालमा लालकिशोर साह र २०७९ सालमा मनोजकुमार साह नगरप्रमुखमा निर्वाचित भए । यी दुई कार्यकाललाई व्यक्तिको प्रशंसा वा आलोचनामा मात्र सीमित नगरी उपलब्धि, कमजोरी र नागरिकका अधुरा अपेक्षाको आधारमा मूल्याङ्कन गर्नुपर्छ ।
लालकिशोर साहको कार्यकालमा सडक विस्तार, सहिदद्वार निर्माण, विद्यालयका भौतिक संरचनामा सुधार, उपमहानगरपालिकाको भवन निर्माण तथा सरसफाइसम्बन्धी कामको चर्चा हुने गरेको छ । सहरी पूर्वाधार विस्तारका यी प्रयासलाई उपलब्धिका रूपमा लिन सकिन्छ । तर विकास निर्माणका क्रममा प्रभावित नागरिकको क्षतिपूर्ति, जनतासँगको संवाद र निर्णय प्रक्रियाप्रतिको सन्तुष्टिका विषयमा प्रश्न उठेका थिए। विकासको परिणाम सडक वा भवनमा मात्र देखिनु पर्याप्त हुँदैन; त्यसले नागरिकको जीवनमा कस्तो प्रभाव पा¥यो भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।
२०७९ सालको निर्वाचनमा राजनीतिक गठबन्धन, दलभित्रको असन्तुष्टि र स्वतन्त्र उम्मेदवारीले नयाँ राजनीतिक समीकरण निर्माण ग¥यो । नेपाली कांग्रेसका नगरसभापति मनोजकुमार साहले गठबन्धनबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए र नगरप्रमुखमा निर्वाचित भए । पछि उनी पुनः नेपाली कांग्रेसमा आबद्ध भए । यस घटनाले स्थानीय निर्वाचनमा दलगत संरचनासँगै व्यक्तिगत जनसमर्थनको भूमिका पनि महत्त्वपूर्ण हुन सक्ने देखायो । तर निर्वाचन जित्नु र नागरिकले अपेक्षा गरेको परिवर्तन दिनु फरक कुरा हुन् । मनोजकुमार साहको कार्यकालको मूल्याङ्कन पनि योजनाको घोषणा वा राजनीतिक सम्बन्धका आधारमा होइन, कार्यान्वयन भएका काम, सार्वजनिक सेवाको अवस्था, बजेटको उपयोग, पारदर्शिता र नागरिकले अनुभव गरेको परिवर्तनका आधारमा हुनुपर्छ ।
विगतका दुवै कार्यकालले एउटा पाठ दिन्छन—नेतृत्व परिवर्तन आफैँमा विकासको प्रत्याभूति होइन । अनुहार बदलिँदैमा नगरको चरित्र बदलिँदैन । त्यसका लागि सोच, प्राथमिकता, कार्यशैली र जवाफदेहितामा परिवर्तन आवश्यक हुन्छ ।
जनकपुरधाम उपमहानगरपालिकाका २५ वडाको भूगोल, आवश्यकता र आर्थिक सम्भावना एउटै छैन । कुनै वडामा कृषि र पशुपालनको सम्भावना छ, कुनैमा साना उद्योग तथा व्यापार विस्तार गर्न सकिन्छ, कुनैमा धार्मिक तथा सांस्कृतिक पर्यटनको आधार छ । यी विविधतालाई एउटै ढाँचाको विकास योजनामा सीमित गर्नुको सट्टा वडाको विशेषताअनुसार आर्थिक सम्भावना पहिचान गर्नुपर्छ ।
कृषि सम्भावना भएका वडामा उत्पादनसँगै भण्डारण, प्रशोधन, बजारीकरण र किसानको आम्दानी बढाउने कार्यक्रम आवश्यक छन् । साना उद्योगको सम्भावना भएका क्षेत्रमा स्थानीय सीप, पुँजी र बजारलाई जोड्न सकिन्छ । धार्मिक तथा सांस्कृतिक महत्त्व भएका क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउने, स्थानीय उत्पादनको बिक्री बढाउने र सांस्कृतिक अनुभवसँग सम्बन्धित व्यवसाय विकास गर्ने अवसर छन् ।
पर्यटकलाई आकर्षित गर्न मन्दिरको प्रचार मात्र पर्याप्त हुँदैन । व्यवस्थित सूचना केन्द्र, सफा सार्वजनिक शौचालय, सहज आवागमन, सुरक्षित पैदलमार्ग, स्थानीय परिकार, मिथिला चित्रकला, हस्तकला र सांस्कृतिक प्रस्तुतिलाई पर्यटनसँग जोड्न सकिन्छ । यसबाट होटल र यातायात व्यवसायीलाई मात्र होइन, साना पसले, कलाकार, कारीगर, महिला उद्यमी र युवालाई पनि आम्दानीको अवसर सिर्जना गर्न सकिन्छ ।
विकासको वास्तविक अर्थ यही हो-सहरमा आउने आर्थिक अवसर नागरिकको घरदैलोसम्म पुग्नु । एउटा सडक बनेपछि त्यसले स्थानीय व्यापारलाई कति सहयोग ग¥यो ? एउटा पर्यटकीय योजना सञ्चालन भएपछि कति रोजगारी सिर्जना भयो ? एउटा सीपमूलक कार्यक्रमपछि कति युवाले आम्दानी गर्न थाले ? यस्ता प्रश्नको उत्तर दिन सक्ने विकास योजना आवश्यक छ ।
जनकपुरधामको अर्को महत्त्वपूर्ण सम्भावना शिक्षा हो। कुनै समय रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) ले उच्च शिक्षाका लागि देशभरका विद्यार्थीलाई आकर्षित गर्ने प्रतिष्ठा बनाएको थियो। यस संस्थासँग जोडिएर विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तिहरूको चर्चा आज पनि सुनिन्छ। तर विगतको प्रतिष्ठा सम्झेर मात्र वर्तमानको शैक्षिक चुनौती समाधान हुँदैन।
राराब क्याम्पसको शैक्षिक वातावरण, पूर्वाधार, अध्ययन–अनुसन्धान, शिक्षक व्यवस्थापन र विद्यार्थीमैत्री सेवामा सुधार आवश्यक छ। यसका लागि उपमहानगरपालिकाले आफ्नो अधिकारक्षेत्रभित्रका सम्भावना उपयोग गर्दै प्रदेश, संघीय सरकार, विश्वविद्यालय र सम्बन्धित शैक्षिक निकायसँग सहकार्य गर्न सक्छ। शिक्षा भनेको भवन र कक्षाकोठा निर्माणमा मात्र सीमित हुँदैन। गुणस्तरीय अध्यापन, समयानुकूल पाठ्यक्रम, प्रविधिको प्रयोग, अनुसन्धानको संस्कृति र विद्यार्थीले भविष्यको रोजगारीसँग जोड्न सक्ने सीप पनि शिक्षाका आधार हुन्। जनकपुरधामलाई शिक्षा केन्द्रका रूपमा विकास गर्न सकिएमा यसले स्थानीय व्यापार, आवास, यातायात र सेवा क्षेत्रमा समेत आर्थिक गतिविधि बढाउन सक्छ।
युवालाई विदेश जानबाट रोक्ने भाषणभन्दा स्वदेशमै सम्मानजनक अवसर सिर्जना गर्ने नीति प्रभावकारी हुन्छ। स्थानीय तहले सबै रोजगारी आफैँ सिर्जना गर्न नसके पनि सीप विकास, उद्यमशीलता, बजारको पहुँच, लगानीमैत्री वातावरण र निजी क्षेत्रसँगको सहकार्यमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
अबको निर्वाचनमा जनकपुरधामका मतदाताले उम्मेदवारसँग केवल प्रतिबद्धता होइन, स्पष्ट उत्तर माग्नुपर्छ। जनकपुरधामको पाँच वा दस वर्षपछिको स्वरूप कस्तो हुनेछ? नगरको मुख्य आर्थिक आधार के हुनेछ? युवाका लागि कस्ता रोजगारी र उद्यमका अवसर सिर्जना गरिनेछन्? धार्मिक पर्यटनलाई स्थानीय अर्थतन्त्रसँग जोड्ने ठोस योजना के छ? सार्वजनिक शिक्षाको गुणस्तर सुधार्न के गरिनेछ? फोहोर व्यवस्थापन, ढल, खानेपानी, सडक र सार्वजनिक स्थलको समस्या कसरी समाधान गरिनेछ? नगरको बजेट कुन प्राथमिकतामा खर्च हुनेछ? कामको प्रगति नागरिकले कसरी थाहा पाउनेछन्? वाचा पूरा नभए जनताप्रति जवाफदेही हुने आधार के हुनेछ?
यी प्रश्नको उत्तर चुनावी सभामा सुनिने आकर्षक भाषणमा मात्र खोज्नु हुँदैन । उम्मेदवारको लिखित कार्ययोजना, विगतको काम, सार्वजनिक व्यवहार, आर्थिक पारदर्शिता र नागरिकसँग संवाद गर्ने शैलीमा पनि खोज्नुपर्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा, उम्मेदवारले आफ्नो योजनाको आर्थिक आधार स्पष्ट पार्न सक्नुपर्छ । कुन काम उपमहानगरपालिकाको बजेटबाट सम्भव छ ? कुनका लागि प्रदेश वा संघीय सरकारको सहयोग चाहिन्छ ? कुन क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य गर्न सकिन्छ ? कुन योजना पहिलो वर्ष, कुन दोस्रो वर्ष र कुन कार्यकालको अन्त्यसम्म पूरा गरिनेछ? समयसीमा र प्रगति मापन गर्ने आधार नभएको योजना कागजमा सुन्दर देखिए पनि व्यवहारमा अधुरै रहन सक्छ ।
स्वतन्त्र उम्मेदवार वा राजनीतिक दलका उम्मेदवारमध्ये को अगाडि आउँछ भन्ने बहस स्वाभाविक हो । तर स्वतन्त्र हुनु मात्रै परिवर्तनको प्रमाण होइन, र दलसँग आबद्ध हुनु मात्रै असफलताको परिचय पनि होइन । महत्त्वपूर्ण कुरा उम्मेदवारको क्षमता, सार्वजनिक अभिलेख, विचार, कार्ययोजना र जवाफदेहिता हो ।
जनकपुरधामलाई आज परम्परा र आधुनिकताबीच सन्तुलन कायम गर्न सक्ने नेतृत्व चाहिएको छ । धार्मिक आस्थाको सम्मान गर्दै सांस्कृतिक सम्पदाको संरक्षण गर्ने, आधुनिक प्रविधि र ज्ञानको उपयोग गर्ने, आर्थिक सम्भावनालाई रोजगारीसँग जोड्ने तथा नगरका सबै वर्ग र समुदायलाई विकासको प्रक्रियामा सहभागी गराउने दृष्टि आवश्यक छ ।
जेनजी आन्दोलनले उठाएका प्रश्नको उत्तर केवल नयाँ पुस्तालाई उम्मेदवार बनाएर मात्र प्राप्त हुँदैन। पुरानो पुस्ताले पनि नयाँ सोच आत्मसात् गर्न सक्छ, नयाँ पुस्ताले पनि पुरानै राजनीतिक अभ्यास दोहो¥याउन सक्छ। त्यसैले परिवर्तनको मापदण्ड उमेर वा अनुहार होइन, विचार र व्यवहार हुनुपर्छ।
चुनाव आउँछ, प्रचार सुरु हुन्छ, झन्डा र ब्यानरले सहरका भित्ता र सडक भरिन्छन्। उम्मेदवार घरदैलोमा पुग्छन्, हात मिलाउँछन् र भविष्यका अनेक सपना बाँड्छन्। तर चुनाव सकिएपछि ती सपना कति पूरा हुन्छन् भन्ने प्रश्न नै लोकतन्त्रको वास्तविक परीक्षा हो।
जनकपुरधामलाई अब अर्को चुनावी उत्सव मात्र चाहिएको छैन। यसलाई आफ्नो सम्भावना चिन्न सक्ने, प्राथमिकता निर्धारण गर्न सक्ने, स्रोतको सदुपयोग गर्ने र नागरिकको जीवनमा मापनयोग्य परिवर्तन ल्याउने नेतृत्व चाहिएको छ। राजनीति पद प्राप्त गर्ने माध्यम मात्र होइन, समाजको भविष्य निर्माण गर्ने जिम्मेवारी पनि हो। उम्मेदवारले जनताको विश्वास माग्नुअघि आफूले गर्न सक्ने काम, त्यसका लागि आवश्यक स्रोत र त्यसको परिणामबारे स्पष्ट हुनुपर्छ। जनताले पनि व्यक्तिगत सम्बन्ध, भावनात्मक आग्रह र क्षणिक प्रचारभन्दा माथि उठेर विचार, योजना र विगतको कार्यसम्पादनका आधारमा नेतृत्वबारे सोच्नुपर्छ।
अन्ततः जनकपुरधामको भविष्य कसले चुनाव जित्छ भन्ने कुराले मात्र निर्धारण गर्दैन; जित्नेले कस्तो दृष्टि बोकेको छ र जनताले उसलाई कति जवाफदेही बनाउँछन् भन्ने कुराले निर्धारण गर्छ । अबको निर्वाचन व्यक्तिको लोकप्रियताको परीक्षा मात्र होइन, जनकपुरधामको भविष्यबारे प्रस्तुत गरिने विचार, योजना र प्रतिबद्धताको पनि परीक्षा बन्नुपर्छ। किनकि जनकपुरधामलाई अब सपना बाँड्ने नेतृत्व होइन, सपनालाई यथार्थमा बदल्ने दृष्टि चाहिएको छ । Photo Ai



