वीरगञ्ज , ९ असार । चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै १५ अर्ब ९२ करोड रुपैयाँ बराबरका इन्धनबाट चल्ने साना–ठूला सवारीसाधन नेपाल भित्रिएका छन्। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार उक्त अवधिमा अनएसेम्बल्ड मोटरसाइकलदेखि क्रेन र लहरीसम्मका ५९ हजार ४७४ सवारीसाधन आयात भएका हुन्।
यी सवारीसाधनको आयातबाट मात्रै सरकारलाई १५ अर्ब ३८ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।
भन्सार कार्यालयका अनुसार सो अवधिमा ५ अर्ब ७८ करोड रुपैयाँ बराबरका ४४ हजार ४४० अनएसेम्बल्ड मोटरसाइकल आयात भई ५ अर्ब ५१ करोड राजस्व सङ्कलन भएको छ। त्यस्तै, २ अर्ब ६३ करोड रुपैयाँ बराबरका १ हजार ३०७ वटा बस तथा ट्रकका चेसिस आयात भएका छन्।
यस्तैगरी, ८ सय ३९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भई त्यसबाट १ अर्ब ८० करोड रुपैयाँ बराबरको व्यापार भएको छ। पाँच हजार २२० वटा ट्र्याक्टर तथा ट्रेलर १ अर्ब १६ करोडमा आयात भएका छन् भने ३ सय ७४ वटा बस १ अर्ब २ करोडमा, १ सय ३१ वटा कन्क्रिट मिक्सर लहरी ६७ करोडमा, र २ सय ७६ वटा ट्रक तथा मिनीट्रक ६६ करोड रुपैयाँ मूल्यमा आयात भएका छन्।
इन्धनयुक्त सवारीसाधनसँगै ४ हजार १६० वटा तयारी मोटरसाइकलसमेत ३९ करोड रुपैयाँमा आयात गरिएका छन्। यस अवधिमा विद्युतीय सवारीसाधनको आयातमा पनि उल्लेख्य वृद्धि देखिएको छ। २ हजार ३८५ वटा साना–ठूला विद्युतीय सवारीसाधन १ अर्ब ८४ करोड २३ लाख रुपैयाँमा आयात गरिएका छन्, जसबाट १ अर्ब ८४ करोड २७ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
समग्रमा, चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाकाबाट सवारीसाधन तथा तिनका पार्टपुर्जाको आयातबाट १७ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

