कैलाश दास ।
जनकपुरधाम नेपालको धार्मिक र सांस्कृतिक धरोहरको धनी तीर्थस्थल हो । यो पवित्र शहरमा हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्त महत्वपूर्ण स्थलहरू छन्, जहाँ देशी–विदेशी हजारौं श्रद्धालुहरू वर्षेनी दर्शनार्थ आउँछन् । म, सञ्चारकर्मीको रूपमा, विगत केही वर्षदेखि जनकपुरधामका धार्मिक सम्पदाहरूको संरक्षण र प्रवर्धनको विषयमा लेख्दै आएको छु । तर आफूले यहाँ बाहेक कुनै ठूलो तीर्थस्थलको भ्रमण गरेको थिएन । वैद्यनाथधामको यात्राले मेरो धार्मिक अनुभूतिलाई नयाँ आयाम दियो ।
२०७० साल साउन २१ गते सोमबार साँझ ८ बजे अचानक फोन आयो । मिथिला ऋतु साप्ताहिकका सम्पादक उमेश दाइले भने, कैलास, तिमी वैद्यनाथधाम जान्छौ ? यदि जान्छौ भने टिकट आजै रिजर्भ गरौं । त्यो समाचारले मेरो मनमा उत्साहको सागर उठायो । बाबाधाम जाने सोचले मलाई आनन्दित तुल्यायो । उमेश दाइले चार दिनभित्र यात्रा सकिने बताए । हामीले पूर्वाधार राम्रोसँग मिलाएर योजना बनायौं ।
साउन २३ गते शनिवार मध्यान्ह ४ बजेर ५ मिनेटमा भारतको जयनगरबाट चल्ने गंगासागर एक्सप्रेसको टिकट कन्फर्म भयो । त्यो क्षण मेरो जीवनको एक ऐतिहासिक पल थियो। यात्रा तय भयो र तयारीमा जुट्न लागें ।
यात्राको पूर्वसन्ध्यामा उमेश दाइसँग म कस्तो तयारी गरुँ भनी कुरा गरें । उहाँले पवित्र वस्त्र कम्तीमा एक सेट, आरामदायी कपडा, थोरै भारतीय रुपैयाँ लिन सुझाव दिनुभयो । म जनकपुरबाट जयनगर कसरी जान्छु भनेर पनि उहाँलाई सोधेँ । उहाँले मेरो चिन्ता हटाउँदै, “मैले जीप र चालकलाई सबै व्यवस्था गरिदिएको छु । तिमीहरूलाई जीपले लिन र ल्याउनै पर्छ,” भन्नुभयो।
साउन २४ गते विहान मैले श्याम भाईजीलाई फोन गरें । उहाँले सावा बारह बजे घरबाट निस्कने बताउनुभयो । १२ः१५ बजे उहाँको फोन आयो, “म सीता चौकमा छु, तिमी भानु चौकमा आउ ।” म तयार भएर भानु चौक पुगेँ । श्याम भाईजी रिक्सा चढेर आए । हामी एउटै रिक्सा चढेर उमेश दाइको घर नजिक पुग्यौ ं।
जीप आइपुग्यो र हामी “जानकी माता की जय” भन्दै जयनगरतर्फ प्रस्थान गर्यौं । बाटोमा धार्मिक, सामाजिक र राजनीतिक विषयमा गफ गरिरहेका थियौं । जनकपुर–जयनगर सडकको दुर्दशा, सीमा क्षेत्रको अवस्था र विकासका लागि आवश्यक सुधारका विषयमा चर्चा गरिरहँदा मलाई लेखनका लागि नयाँ प्रेरणा मिलिरहेको थियो ।
जयनगर पुग्न केही समय लाग्यो । त्यहाँ पुगेर हामीले गञ्जी र गम्छा किन्यौं र स्वादिलो नास्ता खायौ ं। त्यसपछि जयनगर रेल्वे स्टेशनको प्लेटफार्म नम्बर २ मा गंगासागर एक्सप्रेसको पर्खाइ गर्यौं ।
रेल निर्धारित समयभन्दा पाँच मिनेट ढिलो गुड्न थाल्यो । रेलमा हामी तीनैजना तलको सिटमा बसेका थियौं, चार सिटमध्ये एउटा अपरिचित वृद्ध पनि थिए । हामीले मैथिली भाषा र संस्कृति सम्बन्धी कुराकानी गर्दै विभिन्न विषयमा छलफल गर्यौ ं। वृद्धले पनि आफ्नो अनुभव र आक्रोश सुनाउँदै हाम्रो यात्रालाई थप रोचक बनाइदिए ।
रेलयात्रा बीचमा हामीले खाना माग्यौ ं। बरौनी स्टेशनमा ट्रेन रोकियो र हामीले प्लेटफार्ममै खाना खायौं । खाना सादा, स्वादिलो थियो । भोजन पछि केही समय घुमफिर गरी फेरि आफ्नो सीटमा बसेर आराम गर्यौं । म र श्याम भाईजी आरामसँग सुतेँ, तर उमेश दाइ सधैं जागरुक थिए । उहाँले मोबाइलमा स्टेशनहरूको जानकारी लगातार हेर्दै रेलको अवस्थाको निगरानी गर्नुभएको थियो ।
झाझा रेल्वे स्टेशन नजिकिँदै गर्दा उहाँले हामीलाई जगाउनुभयो । हामी तीनैजना जसीडीह रेल्वे स्टेशनमा झरेका थियौं । स्टेशनबाट बाहिर निस्केपछि श्याम भाईजी र म बुक स्टलतिर लाग्यौं । त्यहाँ श्याम भाईजीले ‘अष्टाबक्रको महाभारत’ नामक पुस्तक देखे र तुरुन्तै किनेर आफ्नो झोला भित्र राखे । त्यो क्षण पनि यात्राको एउटा रमाइलो सम्झना भयो ।
जसीडीहबाट टेम्पो चढेर देवघरतर्फ लाग्यौं । राति १२ बजेर १९ मिनेट हुँदा हामी देवघर टावर चौकमा पुगेका थियौं । टेम्पो चालकसँग सोध्दा राति र दिनको भाडा समान थियो । हामीले ३० रुपैयाँ तिरेर आरामदायी यात्राको आनन्द लियौं ।
होटल गुप्ता, जसमा हामी दुई दिन बस्ने थियौं, होटल बन्द थियो तर कर्मचारीले हामीलाई स्वागत ग¥यो । कोठा साच्चैमा राम्रो थियो र होटल मालिक र स्टाफको सत्कारशैलीले हामीलाई मनप¥यो। बिजली गएपछि पनि जेनेरेटर चलाएर सुविधा दिइरहेका थिए ।

आइतवार विहान चार बजे उठेर स्नान ग¥यौं । त्यसपछि हामी वैद्यनाथधामको दर्शनका लागि तयार भयौं । पवित्र वस्त्र लगाएर होटलबाट निस्केका थियौं । मन्दिरको पश्चिम ढोकामा पण्डाजीले हाम्रो स्वागत गर्नुभएको थियो। हामीले पुष्प, बेलपत्र, गंगाजल लिएर दर्शनको लामो पंक्तिमा बस्यौं । भाद्र महिनाको तातो घाममा करिब दुई किलोमिटर लामो पंक्ति देख्दा म निकै अचम्मित भएँ । त्यहाँका भक्तजनहरू विभिन्न भाषाभाषी र उमेर समूहका थिए, जो बाबा वैद्यनाथप्रति अत्यन्त श्रद्धालु देखिन्थे ।
देवघरको धार्मिक वातावरण अत्यन्त शान्त र मनमोहक थियो । त्यहाँको कुनै पनि होटलमा मासु, माछा, प्याज, लसुनजस्ता पदार्थको प्रयोग थिएन । यसले त्यहाँका मानिसहरूको शुद्धता र सेवाभाव झल्काउँथ्यो । म जनकपुरलाई सम्झेर केही क्षण दिक्क भएँ, किनभने यहाँका होटलहरूमा मांसाहार र मदिरा सजिलै पाइन्छ ।
हामीले भगवान कृष्णको मन्दिरमा पनि दर्शन गर्यौं र केही समय आराम गरेपछि फेरि वैद्यनाथ मन्दिर पुगेर सन्ध्याकालीन आरतीमा सहभागी भयौं । त्यसदिन साँझ हावा झरेको र हल्का पानी परिरहेको थियो । हामीले भोजन गरी होटलमा फक्र्यौं ।
सोमबार बिहान ८ बजे हामी नन्दन पहाड पुगेका थियौं । प्रवेश शुल्क तिरेर भगवान शिवको मूर्ति र भक्तहरूको मूर्तिहरू अवलोकन गर्यौ ं। त्यहाँको प्राकृतिक सौन्दर्य, पार्क र तलावले नन्दन पहाडलाई आकर्षक बनाएको थियो । पहाडको दक्षिणतिर शिव महिमा झल्काउने मूर्तिहरू थिए भने उत्तरतिर सुरक्षा क्याम्प थिए ।
नन्दन पहाड हेर्दा मलाई जनकपुरको याद आयो । जहाँ ५२ कुट्टी, ७२ कुण्ड, जानकी मन्दिर, राम मन्दिर, धनुषाधाम, गंगासागर लगायतका धार्मिक स्थलहरू छन्। तर जनकपुरमा पर्यटकलाई आकर्षित गर्ने पूर्वाधार र व्यवस्थापनको कमी छ ।
जनकपुरधाम विश्वव्यापी धार्मिक आस्था र सांस्कृतिक महत्व राख्ने स्थल हो । यद्यपि यहाँको दुर्गम सडक, अस्वच्छ वातावरण, मद्यपान र मांसाहारले धार्मिक यात्रुहरूलाई निराश बनाइरहेको छ । राज्य र स्थानीय निकायले यसप्रति ध्यान दिनु आवश्यक छ ।
हामीले बाबाधामबाट चार दिनको धार्मिक यात्रा पूरा गरी जनकपुर फर्कियौं । यस यात्राले मलाई धर्म, संस्कृति, आस्था र पर्यटनको महत्व बुझ्न ठूलो अनुभव दियो। अब समय आएको छ कि हामीले आफ्ना धार्मिक सम्पदाहरूलाई संरक्षण गर्दै देश र विदेशका पर्यटकहरूलाई आकर्षित गर्ने ठोस योजना बनाऔं ।
यो धार्मिक यात्राले मेरो मनमा गहिरो छाप छोड्यो । बाबाधामको शान्त र पवित्र वातावरण, त्यहाँको भक्तजनहरूको माया र श्रद्धाले मलाई अद्भुत अनुभूति दिलायो । जीवनका आरोह–अवरोहबीच धर्म र आस्थाले मानिसलाई कसरी जोड्दछ भनेर मैले यो यात्राबाट बुझें । देवघरको निरामिष भोजन र श्रद्धालुहरूको शिष्टाचारले मलाई सोच्न बाध्य पा¥यो कि हामीले हाम्रो आफ्नै धाम र संस्कृतिको संरक्षणमा कहिल्यै उदासीन हुनुहुँदैन ।
वैद्यनाथधामको यात्राले मेरो पत्रकारिता क्षेत्रमा नयाँ उर्जा थप्यो । यस यात्राको अनुभवलाई लेख्न पाउँदा मैले धार्मिक पर्यटनमा हुने सम्भावनाहरू र यसको संवेदनशील पक्षलाई समेत उजागर गर्न सकें। जनकपुरजस्तै ऐतिहासिक र पवित्र स्थलहरूलाई सजावट, सफाई, सुरक्षित वातावरण, र उचित व्यवस्थापन गरेर विश्वकै उत्कृष्ट तीर्थस्थल बनाउन सकिन्छ। यसका लागि आवश्यक छ — राज्य, समाज र स्थानीय जनताको सक्रिय भागीदारी ।
यात्रा क्रममा मैले थुप्रै कुराहरू सिकें — धार्मिक आस्था र सांस्कृतिक पहिचान मात्र होइन, तीर्थस्थलहरूको विकास, पर्यटक व्यवस्थापन, र स्थानिय जनताको जागरण आवश्यक छ। यी कुराले मात्र हाम्रो धार्मिक स्थलहरू सुरक्षित र सशक्त बन्न सक्छन् । मैले जे देखेँ र अनुभूत गरें, त्यो मेरो लेखनको प्रमुख आधार बन्नेछ ।
यो यात्रा मेरो व्यक्तिगत मात्र होइन, सामाजिक तथा सांस्कृतिक जीवनको एउटा महत्वपूर्ण मोड बन्यो । पवित्र बाबाधामको अनुभवले मलाई धार्मिक पर्यटन र सांस्कृतिक संरक्षणमा अझ सक्रिय बन्न प्रेरित ग¥यो । जनकपुरधाम जस्ता ऐतिहासिक स्थलहरूमा आधुनिक पूर्वाधार, सफाई, सुरक्षा र पर्यटकमैत्री वातावरण ल्याउन सकेनौं भने ती स्थलहरू विकासभन्दा पनि विनाशको बाटोमा जान्छन् ।
यस यात्राले मलाई सिकायो कि धार्मिक स्थलहरूलाई श्रद्धा र भक्तिमात्र होइन, व्यवस्थापन र संरक्षणका दृष्टिले पनि विशेष प्राथमिकता दिनुपर्छ। यी स्थलहरूमा आउने प्रत्येक पर्यटक र श्रद्धालुले सुरक्षित, शान्तिपूर्ण र पवित्र अनुभूति पाउनुपर्छ। त्यसो हुँदा मात्र हाम्रो संस्कृति, इतिहास र आस्था बच्न सक्छ ।
स्मरण : यो यात्रा स्मरण २०७० साल भाद्र ८ गते वैद्यनाथधाम दर्शन गरी फर्किएर आएरपछि लेखिएको हो ।

