जनकपुरधाम १० असार । जनकपुरधामको शैक्षिक क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै आएको मिथिला इन्स्टिच्युट अफ टेक्नोलोजी (मिट) क्याम्पसले राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालित कक्षा १२ को परीक्षामा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ । क्याम्पसका अनुसार विज्ञान, वाणिज्य र कानून संकायका करिब ४० जना विद्यार्थीले उत्कृष्ट ग्रेड प्राप्त गरेका छन्, जसले संस्थाको शैक्षिक गुणस्तर र निरन्तरको मेहनतलाई प्रतिबिम्बित गरेको छ ।
क्याम्पसका प्राचार्य मनोज साहले शैक्षिक सत्र २०८२ को परीक्षाफल उत्साहजनक रहेको जानकारी दिँदै विद्यार्थी, अभिभावक तथा शिक्षकको सामूहिक प्रयासका कारण यस्तो उपलब्धि सम्भव भएको बताए । उनका अनुसार विज्ञान, वाणिज्य र कानून तीनै संकायका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका छन् र धेरैले ए–प्लस (+2) सहित उच्च ग्रेड हासिल गरेका छन्।
यस वर्षको नतिजामा संस्कृति भट्टराई विज्ञान संकायमा, रेशव कुमार साह वाणिज्य संकायमा तथा विनिता दास कानून संकायमा उत्कृष्ट विद्यार्थीका रूपमा उभिएका छन् । उनीहरूसहित अन्य धेरै विद्यार्थीले पनि उच्च अंकसहित सफलता हासिल गरेका छन् ।
प्राचार्य साहले विगतमा पनि क्याम्पसले उल्लेखनीय उपलब्धि हासिल गरेको स्मरण गराउँदै, यसअघि माध्यमिक शिक्षा परीक्षा (एसईई) मा समेत धनुषा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए । उनका अनुसार नियमित अध्ययन, दक्ष शिक्षक, अनुशासित शैक्षिक वातावरण र विद्यार्थी–केन्द्रित सिकाइ प्रणालीले सकारात्मक परिणाम दिएको हो ।
शिक्षाविद्हरूका अनुसार विद्यालय वा क्याम्पसको वास्तविक सफलता तब मापन हुन्छ, जब त्यहाँबाट अध्ययन गरेका विद्यार्थीले ज्ञान, सीप, नैतिकता र जिम्मेवार नागरिकको रूपमा समाजमा सकारात्मक योगदान दिन्छन् । त्यस अर्थमा, मिट क्याम्पसको यो उपलब्धि केवल संस्थाको मात्र नभई समग्र जनकपुरधामको शैक्षिक विकासका लागि पनि प्रेरणादायी मान्न सकिन्छ ।



