जनकपुरधाम १२ असार । आफ्नै नेतृत्वको मधेश सरकारले प्रस्तुत गरेको बजेट नीति तथा कार्यक्रम अनुसार नआएको भन्दै जनमत पार्टीले असन्तोष व्यक्त गरेको छ। आज बसेको संसदीय दलको बैठकले बजेट त्रुटिपूर्ण भएको निष्कर्ष निकाल्दै आगामी निर्णय पार्टीको केन्द्रीय सचिवालयमार्फत गरिने निर्णय गरेको हो।
जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले भने, "जसरी नीति तथा कार्यक्रम ल्याइएको थियो, त्यसअनुसार बजेट प्रस्तुत भएन। यसबारे पार्टीले गम्भीर निर्णय लिनु आवश्यक देखिएको छ, त्यसका लागि हामीले जिम्मेवारी सचिवालयलाई दिएका छौं।"
मधेश सरकारका आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याइएको बजेटको रेडबुक मा समावेश गरिएका योजनामा बिचौलियाको संलग्नता रहेको, जबकि पार्टीले संकलन गरेका जनहितका योजना समेटिएको नरहेको जनमतका केन्द्रीय अध्यक्ष डा. सिके राउतले सामाजिक सञ्जालमार्फत गम्भीर असन्तोष व्यक्त गरेका छन्।
जनमत पार्टीकै नेता सतिशकुमार सिंहको नेतृत्वमा गठित मधेश सरकारले असार १ गते सार्वजनिक गरेको बजेटमा ४६ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरिएको छ। तर नीति तथा कार्यक्रमको भावनाअनुसार बजेट नआएको भन्दै सत्तारूढ दलभित्रै असन्तुष्टि बढेको देखिन्छ।



