जनकपुरधाम २६ असार । चालु आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेश सरकारले कुल बजेटको ७१.४८ प्रतिशत रकम खर्च गरेको छ। प्रदेशको अर्थ मन्त्रालयका अनुसार असार २५ गते रातिसम्म चालु तथा पुँजीगत शीर्षकमा कुल ३१ अर्ब ३७ करोड ५२ लाख ४३ हजार रुपैयाँ खर्च भएको हो।
चालु वर्षको लागि मधेश सरकारले कुल ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको थियो। जसमध्ये २८ अर्ब ६१ करोड २० लाख ७४ हजार पुँजीगततर्फ र १५ अर्ब २८ करोड ९६ हजार चालु शीर्षकमा विनियोजन गरिएको थियो।
अर्थ सचिव रामकुमार महतोका अनुसार पुँजीगततर्फ २१ अर्ब ४९ करोड ७९ लाख ३१ हजार रुपैयाँ खर्च गरिएको छ, जुन पुँजीगत बजेटको ७५.६४ प्रतिशत हो। चालु खर्चतर्फ भने ९ अर्ब ८७ करोड ७३ लाख १२ हजार रुपैयाँ खर्च भएको छ, जुन चालु बजेटको ६४.६४ प्रतिशत हो।
यो खर्च स्तर अघिल्ला वर्षहरूको तुलनामा सबैभन्दा राम्रो देखिएको छ। चालु वर्षमा जम्मा २८.५२ प्रतिशत बजेट मात्र फ्रिज भएको छ। तुलना गर्नुपर्दा, अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कुल ५५.७५ प्रतिशत बजेट फ्रिज भएको थियो।
त्यो वर्ष ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेटमध्ये २४ अर्ब ५९ करोड ४५ लाख मात्रै खर्च गरिएको थियो। चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख बजेटमध्ये ९ अर्ब २९ करोड ७० लाख रुपैयाँ खर्च भएको थियो भने पुँजीगततर्फको २५ अर्ब ५७ करोड ५७ लाखमध्ये १५ अर्ब २९ करोड ७५ लाख रुपैयाँ मात्र खर्च भएको थियो।

