जनकपुरधाम, ३० असार । जनकपुर उपमहानगरपालिका–२४ की करिब २० वर्षीया रोशनी खातुनलाई सामाजिक सञ्जाल TikTok मा लाइभ जाँदै अपशब्द र अभद्र गाली–गलौज गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनलाई सार्वजनिक माध्यमबाट अश्लील तथा आपत्तिजनक भाषा प्रयोग गरी समाजमा नकारात्मक सन्देश प्रवाह गरेको अभियोगमा पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार TikTok जस्तो प्रभावशाली माध्यममा यस्ता गतिविधि गर्नुले विशेषगरी युवापुस्तामा गलत प्रभाव पार्ने भएकाले उनीमाथि ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ।
प्रहरीले खातुनमाथि प्रारम्भिक अनुसन्धानका लागि अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको पुष्टि गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले यस्ता कार्यहरू सामाजिक शिष्टाचार, नैतिकता र सार्वजनिक मर्यादाविपरीत भएको भन्दै डिजिटल प्लेटफर्ममा यस्ता क्रियाकलाप गर्नेलाई कडाइका साथ निगरानी गरिने जनाएको छ।
प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जालको दुरुपयोग गर्दै सार्वजनिकरूपमा गाली गलौज र उत्तेजक सामग्रीको प्रसारण गर्नु साइबर मर्यादा विपरीतको कार्य हो, जसप्रति अब प्रहरी कठोर रूपमा प्रस्तुत हुने भएको छ।
धनुषा प्रहरीले आम नागरिक तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई मर्यादित अभिव्यक्ति गर्न अनुरोध गर्दै, यस्ता गलत प्रवृत्तिमा संलग्न जो–कोहीलाई कानुनी कारबाही भोग्नुपर्ने चेतावनी दिएको छ।
सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता भए पनि त्यससँगै जिम्मेवारी र कानुनी सीमा पनि बाँधिएको हुन्छ। समाजमा विकृति र उच्छृङ्खलता फैलन नदिन सम्बन्धित निकाय अझ बढी सतर्क र सक्रिय बन्नु आवश्यक देखिएको छ।

