जनकपुरधाम, ३० असार । प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सामाजिक सञ्जालमार्फत तराईका विभिन्न जिल्लामा बढ्दो खानेपानी तथा सिचाइ संकटप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्।
फेसबुकमार्फत आवाज उठाउँदै सांसद सिंहले अत्यधिक गर्मीका बेला जनकपुरधाम, वीरगञ्ज महानगरलगायत तराईका जिल्लामा खानेपानी र सिचाइको चरम अभाव रहेको उल्लेख गरेका छन्। “अत्यधिक गर्मीमा खानेपानीको अभाव र खेतबाली लगाउने समयमा सिचाइ नहुनु आफैँमा किसानका लागि दोहोरो मार हो,” सिंहले लेखेका छन्, “कृषकले समयमै मलखाद नपाउने, उखु किसानले अनुदान नपाउने, उचित क्षतिपूर्ति नपाउने अनि कागजमै नेपाल कृषिप्रधान देश भनेर दाबी गर्नु विडम्बना हो।”

उनले जलस्रोतको धनी देशमा यस्ता समस्या हुनु व्यवस्थापनको गम्भीर कमजोरी भएको टिप्पणी गरेका छन्। सिंहका अनुसार, प्राकृतिक स्रोतसाधनले भरिपूर्ण मुलुकमा यथोचित व्यवस्थापन हुन नसक्दा किसान र आम नागरिक पीडामा परेका छन्।
सिंहले सरकारलाई आह्वान गर्दै यो संकटको केवल तात्कालिक समाधान होइन, दीर्घकालीन नीति र योजनामार्फत कृषि, सिचाइ तथा जल व्यवस्थापनमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याएका छन्। “कृषकको अवस्था सुधार नगरी समृद्धि सम्भव छैन,” उनले भनेका छन्, “कृषिमा आत्मनिर्भरता र उत्पादन वृद्धिका लागि पानी, मलखाद, बीउबिजन, अनुदान तथा उचित बजार सुनिश्चित गर्न सरकारले प्राथमिकता दिनुपर्छ।”
सांसद सिंहले किसानको अवस्था सुधार गर्न नसके मुलुकको आर्थिक र सामाजिक आधार नै कमजोर हुने उल्लेख गर्दै, आम कृषकको आवाज सुन्न र व्यावहारिक समाधान ल्याउन सरकारलाई सचेत गराएका छन्।
उनको यो भनाइ हाल देशभर बढ्दो गर्मी, जलस्रोतको सुक्खा, सिचाइ संरचनाको अभाव र कृषि संकटको सन्दर्भमा अत्यन्त सान्दर्भिक देखिन्छ।

