श्रीनारायण साह
महोत्तरी, ८ साउन । मटिहानी नगरपालिकामा २०८० साल वैशाख १२ गते भएको भीषण आगलागीबाट प्रभावित परिवारहरूको जीवनस्तर उकास्न थालिएको “आगलागी प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना परियोजना” प्रभावकारी बन्दै गएको छ ।
एफसीएको सहयोगमा, मटिहानी नगरपालिकाको समन्वय र रतौली युवा क्लबको नेतृत्वमा सञ्चालित परियोजनाको हालै नगरपालिका स्तरबाट अनुगमन गरिएको छ। नगर प्रमुख हरिप्रसाद मण्डल, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, वडा अध्यक्ष, शाखा प्रमुखहरू र क्लब प्रतिनिधिहरूको टोलीले कृषि फार्म, मल उत्पादन, दुना–टपरी उद्योग, नास्ता पसल, पशुपालन जस्ता उद्यमहरूको अवलोकन गरेको थियो ।
परियोजनाबाट पहिलो चरणमा ५४ परिवारलाई रु ५५,००० को दरले व्यवसाय प्रारम्भका लागि सहयोग गरिएको थियो। दोस्रो चरणमा २५ परिवारले नगद र सामग्रीसहित सहयोग पाएका छन्। १५ परिवारले तरकारी खेती सुरु गरेका छन् भने अन्यले प्राविधिक तालिम लिएर व्यवसायमा लागेका छन्। परियोजनाले ६ महिने कोचिङ कक्षा सञ्चालन गर्नुका साथै ६० बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ।
समीक्षा बैठकमा नगर प्रमुख मण्डलले परियोजनाको खुलेर प्रशंसा गर्दै सामाजिक र आर्थिक पुनःस्थापनामा यसको भूमिका महत्वपूर्ण रहेको बताए। प्रमुख प्रशासकीय अधिकृत शर्माले परियोजनाले दीगो जीविकोपार्जनतर्फ प्रेरित गरेको भन्दै अन्य क्षेत्रका लागि पनि यो सिकाइ हुनसक्ने बताए ।

