जनकपुरधाम, १५ साउन । मधेश प्रदेशमा उत्पन्न सिँचाइ र खानेपानीको संकटप्रति नेपाली कांग्रेसका नेता, सांसद तथा स्थानीय जनप्रतिनिधिहरूले ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री शेषनारायण यादवलाई ध्यानाकर्षण गराएका छन्।
नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवको नेतृत्वमा बिहीबार जनकपुरधाम पुगेको प्रतिनिधिमण्डलले हाल मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको सिँचाइ तथा खानेपानीको गम्भीर अभावबारे जानकारी दिँदै तत्काल समाधानका लागि आग्रह गरेका हुन्।
सह–महामन्त्री यादवले प्रदेशका अधिकांश जिल्लामा पानीको चरम अभावका कारण जनजीवन संकटमा परेको भन्दै प्रदेश सरकारले तत्काल डिप बोरिङ जडान तथा आवश्यक पूर्वाधार मर्मतको काम अघि बढाउनुपर्ने बताए। “नयाँ बोरिङ जडान सम्भव नभए पनि विगतमा जडान गरिएका अधुरा बोरिङहरू सञ्चालन गर्न सकियो भने तत्काल राहत मिल्न सक्छ,” उनले भने।
प्रतिनिधिमण्डलमा सहभागी प्रदेश सांसद कुमारकान्त झाले मधेशलाई अन्नको भण्डार मानिँदै आएको भए पनि अहिले खडेरी र सुक्खाका कारण यहाँका किसान भोक र प्यासको चपेटामा परिरहेको बताए। “समयमै समाधान भएन भने जनताको जीवन र ष्खिभष्जिययमक दुवै संकटमा पर्न सक्छ,” सांसद झाले चेतावनी दिए।
बैठकमा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका निमित्त सचिव रामकुमार खंगले बजेटको अभावका कारण समस्या समाधानमा ढिलाइ भएको स्पष्ट पारे। “अर्थ मन्त्रालयबाट रकम प्राप्त भएपछि समस्या समाधानतर्फ काम अघि बढ्नेछ,” उनले भने।
उनका अनुसार संघीय सरकारले घोषणा गरेको ५०० बोरिङ परियोजनाको बजेट आएपछि त्यसको कार्यान्वयन तीव्र रूपमा अघि बढाइने छ। तर, संघीय सरकारबाट पठाइएको बजेट कम भएकोले ३७१ वटा खानेपानी आयोजनाहरू अधुरो रहेको जानकारी सचिव खंगले गराए।
कार्यक्रममा मन्त्री शेषनारायण यादवले प्रतिनिधिमण्डललाई प्रतिक्रिया दिँदै भने, “हामी तयारी अवस्थामा छौं। रकम आएलगत्तै बोरिङ जडानको काम सुरु हुनेछ।” उनले संघीय सरकारबाट बजेट ढिलो आएको कारण धेरै योजना अधुरो भएको स्वीकार गर्दै आगामी दिनमा ती योजनाहरूलाई प्राथमिकतामा राखिने बताए।मन्त्री यादवका अनुसार गत वर्ष अधुरा रहेका डिप बोरिङ योजनाहरू पूरा गर्नका लागि अनुगमन टोली खटाइसकिएको छ। “रकम आएलगत्तै ती योजनाहरू सम्पन्न गर्ने छौं,“ उनले बताए।
प्रतिनिधिमण्डलमा सह–महामन्त्री यादव, प्रदेश सांसद कुमारकान्त झा, सांसद अञ्जु पण्डित, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, वडा अध्यक्षहरू, नेपाली कांग्रेसका नेता श्याम यादव, मदन घिमिरेलगायत दर्जनौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो।



