हामीले ‘ए’, ‘बी’, ‘ओ’ र ‘आरएच’ जस्ता रगत समूहहरूको बारेमा सुनेकै हौं। तर यी बाहेक पनि केही दुर्लभ रक्त समूहहरू हुन्छन्। अब भारतमा एउटा नयाँ रक्त समूह पत्ता लागेको छ, जसको नाम राखिएको छ — सीआरआईबी (CRIB)।
सीआरआईबीमा ‘C’ को अर्थ हो क्रोमर (Cromer), जुन हालसम्म पत्ता लागेका ४७ रक्त समूहहरूमध्ये एक हो। ‘I’ को अर्थ हो इन्डिया (India) र ‘B’ को अर्थ हो बेंगलुरु (Bangalore)। सरल भाषामा भन्नुपर्दा, यो रक्त समूह बेंगलुरु नजिक बस्ने एक महिलामा भेटिएको हो।
यो रक्त समूह यति दुर्लभ छ कि जब ३८ वर्षीया ती महिलाको मुटुको शल्यक्रिया (Heart Surgery) हुन लागेको थियो, त्यतिबेला चिकित्सकहरूले सामान्यतया जस्तै रगत चढाउने सम्भावनाको लागि एक–दुई बोतल रगत स्टकमा राख्ने तयारी पनि गरेनन्।
यसको कारण थियो — विशेषज्ञहरू ती महिलाको रक्त समूह नै पहिचान गर्न सकिरहेका थिएनन्।

शल्यक्रिया सम्पन्न भएको ११ महिना बितेपछि अहिले पनि बेंगलुरुस्थित रोटरी–टीटीके ब्लड सेन्टरका अतिरिक्त चिकित्सा निर्देशक डा. अंकित माथुर त्यो दिन सम्झिँदा राहतको सास फेर्छन्। र, खुसीको कुरा — शल्यक्रिया कुनै अतिरिक्त रगत नचढाई सफलतापूर्वक सम्पन्न भएको थियो।
डाक्टर अंकित माथुर ती महिला उपचार गराइरहेको कोलारको आरएल जलप्पा अस्पताल र रक्त विश्लेषण केन्द्रबीचको मुख्य समन्वयकर्ता थिए। ती महिलालाई मुटुमा समस्या देखिएपछि यही अस्पतालमा शल्यक्रियाको सिफारिस गरिएको थियो।
अन्य रक्त समूहभन्दा एकदम भिन्न
डा. माथुर भन्छन्, “महिलाको रक्त कुनै पनि प्रचलित समूहसँग मिलेन। हामीले सबै सामान्य समूहहरूसँग मिलाएर परीक्षण गर्यौं तर प्रत्येकचोटि प्रतिक्रिया आयो।”
अन्ततः डाक्टरहरूले समाधानको उपायको खोजी महिलाको परिवारभित्रै गर्न थाले। उनका २० जना नातेदारहरूको रक्त नमुना परीक्षण गरियो। सबैले सहयोग गरे पनि कसैको रगत ती महिलासँग मेल खाएन।
त्यसपछि अर्को विकल्प थियो — रक्तको नमुना बेलायतको ब्रिस्टलस्थित इन्टरनेशनल ब्लड ग्रुप रेफरेन्स लेबोरेटरी (IBGRL) मा पठाउने।
विश्वभरबाट रक्त नमुनाहरू परीक्षणका लागि यही प्रयोगशालामा पठाइन्छन्, जसले हेर्छ कि त्यो रक्त अरू कुनै समूहहरूसँग मिल्छ कि मिल्दैन। यो प्रक्रिया दक्षिण भारतबाट बेंगलुरुस्थित रोटरी–टीटीके ब्लड सेन्टर वा उत्तर भारतको चण्डीगढस्थित पीजीआई (PGI) मा रक्त नमुना पठाउने प्रणालीजस्तै हो।
डा. माथुरका अनुसार, “परीक्षण र विश्लेषण गर्न उनीहरूलाई १० महिना लाग्यो। फेब्रुअरी–मार्चतिर उनीहरूले जवाफ पठाए — यस महिला रगतमा एउटा अनौठो एन्टिजेन (Antigen) रहेको छ।”
त्यसपछि यो जानकारी इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (ISBT) मा पठाइयो, जहाँ रेड ब्लड सेल इम्युनोजेनेटिक्स एन्ड टर्मिनोलोजी समूहका विशेषज्ञहरूले अध्ययन गरे। तिनैले यो नयाँ रक्त समूहलाई “CRIB” नाम दिने निर्णय गरे।
यसै वर्ष जुन महिनामा इटालीको मिलानमा सम्पन्न ISBT को ३५औं सम्मेलनमा यसको औपचारिक घोषणा गरियो। बीबीसी हिन्दीबाट

