जनकपुरधाम । अमेरिकामा एक दम्पतीको घरमा ३० वर्षभन्दा पुरानो, फ्रिजमा सुरक्षित रूपमा राखिएको भ्रूणबाट सफलतापूर्वक बच्चाको जन्म भएको छ । यो घटनालाई अहिलेसम्मकै सबैभन्दा पुरानो भ्रूणबाट जन्मिएको सफल सन्तानको रूपमा लिइएको छ ।
ओहायोकी ३५ वर्षीया लिन्डसे र उनका ३४ वर्षीय श्रीमान् टिम पियर्स शनिबार बच्चा थेडियस ड्यानिएल पियर्सका अभिभावक बनेका हुन् ।
लिन्डसेले नयाँ प्रविधि र यससँग सम्बन्धित जानकारीबारे चर्चा गर्ने एमआईटी टेक्नोलोजी रिभ्यूसँगको अन्तर्वार्तामा भनिन्, “हाम्रो परिवारलाई यस्तो लाग्यो, मानौं कुनै विज्ञान–कल्पना चलचित्र चलिरहेको हो ।“
यसअघि सन् २०२२ मा १९९२ देखि सुरक्षित राखिएको भ्रूणबाट जुम्ल्याहा बच्चाको जन्म भएको थियो, जुन त्यतिबेलासम्मको सबैभन्दा पुरानो भ्रूण मानिएको थियो ।
भ्र्रूणलाई जोगाइराख्न हजारौं डलर खर्च
पियर्स दम्पती सात वर्षदेखि सन्तानको प्रयासमा थिए । अन्ततः उनीहरूले ६२ वर्षीया लिण्डा आर्चर्डद्वारा सन् १९९४ मा फ्रिजमा राखिएको भ्रूणलाई गोद लिने निर्णय गरे ।
यो भ्र्रण आर्चर्ड र उनका पूर्व–पतिले आइभीएफ (क्ष्ख्ँ) प्रक्रियाबाट बनाएका चार भ्रणमध्ये एक थियो । तीमध्ये एक भ्रूणबाट आर्चर्डकी छोरीको जन्म भएको थियो, जो अहिले ३० वर्षकी भइसकेकी छन् । बाँकी तीन भ्रूणलाई सुरक्षित राखिएको थियो ।
पति सँगको सम्बन्ध विच्छेदपछि पनि आर्चर्डले ती भ्रूणहरू न त नष्ट गरिन्, न त अनुसन्धानका लागि दिइन्, न कुनै अपरिचित परिवारलाई सुम्पिन् ।
उनी चाहन्थिन् कि ती भ्रूणबाट जन्मिने सन्तानसँग जैविक नाता हुने भएकाले सम्बन्ध कायम रहोस् । त्यसैले उनले हरेक वर्ष भ्रूण सुरक्षित राख्न हजारौं डलर खर्च गरिरहिन् ।
अन्ततः उनले एक ईसाई भ्रूण गोद लिने संस्था नाइटलाइट क्रिश्चियन अडप्शन्स सँग सम्पर्क गरिन् ।
‘हामीलाई बच्चा चाहिएको थियो, कीर्तिमान होइन’
यस संस्थाले स्नोफ्लेक्स नामक कार्यक्रम सञ्चालन गर्छ, जसमा भ्रूण दान गर्नेले आफूले चाहेको परिवारमा भ्रूण पठाउने अधिकार राख्छन् ।
आर्चर्डले आफूले अमेरिकामा बसोबास गर्ने, विवाहित, गोरा ईसाई दम्पतीलाई प्राथमिकतामा राखेकी थिइन् ।
एमआईटी टेक्नोलोजी रिभ्यूसँगको कुराकानीमा उनले भनिन्, “म चाहन्थे कि भ्रूण देशबाहिर नजाओस् ।“
त्यसपछि आर्चर्डको पियर्स दम्पतीसँग भेट भयो र भ्रूण स्थानान्तरण प्रक्रिया अमेरिकाको टेनेसी राज्यस्थित रिजोयस फर्टिलिटी क्लिनिक मा सम्पन्न गरियो ।
क्लिनिकका अनुसार, उनीहरूले प्राप्त भ्रूण जो कसैलाई पनि हस्तान्तरण गर्न तयार हुन्छन्, यसमा उमेर वा पारिवारिक अवस्था जस्ता सर्तहरू लागू हुँदैनन् ।
लिन्डसे पियर्सले भनिन्, “हामी कुनै रेकर्ड तोड्न खोजिरहेका थिएनौं, हामीलाई त केवल एक बच्चा चाहिएको थियो ।“
आर्चर्डले बताइन् कि उनी अहिलेसम्म बच्चासँग व्यक्तिगत रूपमा भेटेकी छैनन्, तर उनलाई लाग्छ, त्यो बच्चामा आफ्नी छोरीको झल्को देखिनेछ । बीबीसी हिन्दी सेवाबाट

