जनकपुरधाम, १६ फागुन । मधेश प्रदेशका सभामुख रामअशिष यादवले लोकतन्त्रलाई बलियो र प्रभावकारी बनाउन साहित्यको गहिरो समझ आवश्यक रहेको बताएका छन् ।
मैथिली साहित्य समाजद्वारा हरेक महिना आयोजना हुने कवि गोष्ठीको १२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले साहित्य समाज र राष्ट्रको दर्पण भएको उल्लेख गरे । साहित्यलाई अग्रसर बनाइए समाजमा चेतनाको विकास मात्र नभई आर्थिक समृद्धिको मार्गसमेत प्रशस्त हुने उनको भनाइ थियो ।

सभामुख यादवले समाज र राष्ट्रको नेतृत्वका लागि राजनीति अपरिहार्य रहेको उल्लेख गर्दै युवाहरूलाई राजनीतिप्रति चासो राख्न र सक्रिय सहभागिता जनाउन आग्रह गरे । वर्तमान राजनीतिक अवस्थालाई सही ढंगले पहिचान गर्नुपर्नेमा जोड दिँदै उनले संघीय व्यवस्थाले नै मातृभाषाको संरक्षण र प्रवद्र्धन सुनिश्चित गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमका अतिथि विजय झाले मधेश प्रदेशको समृद्धिका लागि कृषिक्षेत्रको विकास अनिवार्य रहेको बताए। उनले प्रदेशलाई कृषि प्रदेशका रूपमा विकास गर्न राज्यले पर्याप्त बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।
शितल झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दर्जनौँ कविहरूले राजनीतिक, सामाजिक तथा सांस्कृतिक विषयवस्तु समेटिएका कविता वाचन गरेका थिए। विशेषगरी अधिकांश कविहरूले राजनीतिक व्यङ्ग्यप्रधान कविता प्रस्तुत गरी समसामयिक परिस्थितिप्रति आलोचनात्मक दृष्टिकोण व्यक्त गरेका थिए।
कार्यक्रममा वरिष्ठ साहित्यकार काशीकान्त झा, दिगम्बर झा, वैद्यनाथ पासमान, मनोज झा ‘मुक्ति’, विजय यादव, शिवानी मिश्र, वैदेही ठाकुर, मोती झा, विन्दु ठाकुर, विन्दु कुमारी ठाकुर, अमरकान्त ठाकुर तथा किरण झा लगायतले कविता वाचन गरेका थिए।




