जनकपुरधाम, २४ साउन । जनकपुरधाममा दलित, गरीब, विपन्न तथा असहायका लागि निःशुल्क उपचार सुविधा उपलब्ध गराउने अस्पताल शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–२, कदमचौकस्थित सिया मेडिकल प्रा.लि.का सञ्चालक डा. राजीव कुमार झाले अस्पतालमार्फत ६० वर्ष नाघेका बिरामीलाई ५० प्रतिशत छुट तथा दलित, गरीब, विपन्न र असहाय वर्गका बिरामीलाई पूर्ण रूपमा निःशुल्क उपचार गर्ने व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार जनकपुरधामलगायत अधिकांश स्वास्थ्य संस्थामा ओपीडी सेवा साँझ ५ बजेदेखि बन्द हुने प्रचलन छ तर सियामा भने राति १० बजेसम्म निरन्तर सञ्चालन हुनेछ । अस्पतालमा ल्याब, ईसीजी, युएसजी, भिडियो एक्सरे, इको, पीएफटी लगायतका सेवा अत्याधुनिक उपकरणमार्फत उपलब्ध हुने बताए ।

डा. झाले साताको एक दिन विशेष उपचारको व्यवस्था पनि गरिएको उल्लेख गर्दै न्युरोलोजी विशेषज्ञ, मुटुरोग विशेषज्ञ प्रा.डा. अजय मिश्र, किड्नी रोग विशेषज्ञ डा. कृष्ण कुमार साहसहितका चिकित्सकहरू काठमाडौंबाट यहाँ आउने बताए ।
सिया मेडिकल प्रा.लि.मा डा. राजीव कुमार झा, डा. आर्या झा, डा. अमलेन्द्र कुमार यादव, डा. सुनिल कुमार साह, डा. संजीव कुमार झालगायत एक दर्जनभन्दा बढी चिकित्सकले सेवा प्रदान गर्नेछन्।
शनिबार जनकी मन्दिरका महन्थ रामतपेश्वर दासले अस्पतालको औपचारिक उद्घाटन गरेका हुन्।

