सप्तरी, २६ साउन । सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरमा साउन २० गते राति प्रहरीले गोली चलाउँदा ३१ वर्षीय स्थानीय लालु यादवको मृत्यु भएपछि, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान नेतृत्वको टोलीले शनिबार घटनास्थलमा स्थलगत अध्ययन र अनुगमन गरेको छ।
टोलीमा इन्सेक मधेस प्रदेश संयोजक पासवानसँगै सप्तरी इन्सेक स्वयंसेवक नविन यादव, एड्भोकेसी फोरम नेपाल मधेस प्रदेश संयोजक राजकुमार महासेठ र पत्रकार वैधनाथ झा सहभागी थिए। टोलीले घटनास्थलको भौगोलिक अवस्था, गोली प्रहार भएको स्थान, गोलीको दिशा र सम्भावित दूरीका आधारमा विस्तृत विवरण संकलन गरेको छ।
टोलीले मृतक यादवको घर पुग्दा शोकाकुल वातावरण थियो। उनकी पत्नी निरसी कुमारीले भावुक हुँदै घटनाको रातको विवरण सुनाइन्। उनका अनुसार, पतिलाई बचाउन खोज्दा आफ्नै आँखाअगाडि जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्र यादवले तिघ्रामा दुई गोली प्रहार गरेपछि उनी बेहोस भइन्। स्थानीयवासीहरूले पनि प्रहरी अपरेसनको तरिका, गोली चलाइएको समय र स्थानबारे आफ्ना प्रत्यक्ष अनुभव सुनाएका थिए। उनीहरूले यादवलाई नियन्त्रणमा लिइसकेपछि गोली चलाइएको आरोप लगाएका छन्।

टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाल र जिल्ला प्रहरी कार्यालयका एसपी गौतम कुमार केसीसँग छुट्टाछुटै भेटघाट गरेको छ। प्रमुख जिल्ला अधिकारी दाहालले घटनाको अनुसन्धान जारी रहेको जानकारी दिए भने एसपी केसीले अपरेसनको उद्देश्य मदिरा तस्करी नियन्त्रण रहेको र गोली प्रहारबारे आन्तरिक छानबिन भइरहेको बताए।
साउन २० गते राति प्रहरीले “मदिरा तस्करी नियन्त्रण अपरेसन” सञ्चालन गर्ने क्रममा परिस्थितिजन्य कारणले गोली चलाएको दाबी गरेको छ। तर स्थानीयवासी र मृतकका आफन्तले यसलाई “योजनाबद्ध हत्या” भनेर लिएका छन्। आधिकारिक विवरणअनुसार घटनामा ९ एमएम बेरेटा पिस्तोल प्रयोग भएको थियो। गोली लागेर घाइते यादवलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। उनी खुबलाल जग्रनाथ शक्ति आधारभूत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष समेत थिए।
इन्सेक संयोजक पासवानले प्रत्यक्षदर्शीका बयानहरूले गम्भीर प्रश्नहरू उठाएको बताए। “गोली चलाउनु अघि अन्य विकल्प अपनाइएको कि नभएको स्पष्ट हुनुपर्छ,” उनले भने। एड्भोकेसी फोरमका महासेठले मानव अधिकार उल्लङ्घनको आशङ्का व्यक्त गर्दै निष्पक्ष, पारदर्शी र समयमै छानबिन आवश्यक रहेको बताए।

