जनकपुरधाम, २७ साउन । गुठी संस्थानबाट नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले लिजमा लिएको जग्गामा नेपाल बार एशोसिएशनले हस्तक्षेप गरेपछि विवाद चर्किएको छ । विवादको क्रममा कुटाकुट हुँदा चार जना पत्रकार घाइते भएका छन् । घाइतेको उपचार प्रादेशिक अस्पताल जनकपुरधाममा भइरहेको महासंघले जनाएको छ ।
जनकपुरधाम उपमहानगरपालिका–४, स्मशानघाट नजिकैको करिब चार कठ्ठा जग्गा पत्रकार महासंघले २० वर्षका लागि लिजमा लिएको हो । यसबापत वार्षिक तीन लाख एक हजार रुपैयाँ बुझाउने सम्झौता भएको छ ।
महासंघका प्रदेश अध्यक्ष श्याम बंजाराका अनुसार कानुनी सम्पूर्ण प्रक्रिया पूरा गरेर गुठीसँग सम्झौता गरिएको हो । उनले भने, “सम्झौता र सबै कागजात हाम्रो नाममा छन्, तर बार एशोसिएशनले ‘पार्किङ स्थल’ भनेर बोर्ड झुण्ड्याई सवारीसाधन राख्दै आएको छ । यसबारे पत्रकार सम्मेलन गरिसकेपछि केही अधिवक्ताले पत्रकारलाई धम्की दिँदै आक्रमण गरे, जसमा हामीसहित साथीहरू घाइते भयौं ।”

अध्यक्ष बंजाराले थपे, “हामीले वार एशोसिएशनलाई पछाडितिर रहेको तीन कठ्ठा जग्गा गुठीसँग लिएर बाटो दिन तयार छौं भन्ने प्रस्ताव राखेका थियौं । तर सो दिनमै उनीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थाहा पायौं ।”
मंगलवार, जग्गास्थलमै पत्रकार सम्मेलन गरी तारबार लगाउने क्रममा विवाद पुनः चर्किएको अध्यक्ष बंजाराले बताए । उनका अनुसार, “हामी संख्यामा थोरै थियौं । उनीहरूको आक्रमणबाट पत्रकार दिवाकर साह, महासंघका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’सहित करिब आधा दर्जन घाइते भए ।”
महासंघले बार एशोसिएशनमाथि गुठी संस्थानबाट प्राप्त जग्गा बलपूर्वक कब्जा गर्ने प्रयास गरेको आरोप लगाएको छ । महासचिव महतोले भने, “बारका केही व्यक्तिको यस्तो कदम दुर्भाग्यपूर्ण र गैरकानुनी हो । हिंसात्मक व्यवहार निन्दनीय छ । हामी कुनै अवैधानिक कार्यको पक्षमा छैनौं ।”
यस विवादले पेशागत मर्यादा, कानुनी प्रक्रिया र सार्वजनिक सम्पत्तिको प्रयोगबारे बहसलाई पुनः सतहमा ल्याएको छ । स्थानीयले दुवै पक्षलाई संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन् ।
यता, नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएको छ । महासचिव रामप्रसाद दहालका अनुसार साउन २७ गते तारबार लगाउने क्रममा बारका जिल्ला अध्यक्ष विमल मिश्र नेतृत्वको समूहले महासंघका प्रदेश अध्यक्ष बंजारासहित उपाध्यक्ष ज्योति झा, महासचिव महतो, पत्रकार साह, विनिता यादवलगायतलाई आक्रमण गरेको हो ।
कुटपिटबाट महासचिव महतोको खुट्टा भाँचिएको र पत्रकार साहको टाउकोमा गम्भीर चोट लागेको महासंघले जनाएको छ । महासंघले घाइते पत्रकारको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रेस स्वतन्त्रतामाथिको आक्रमणको कडा निन्दा र भत्र्सना गरेको छ ।
महासंघका अनुसार, आक्रमणका क्रममा “अदालत हाम्रो गोजीमा छ, हामी जे भन्छौं त्यही हुन्छ” भन्ने अभिव्यक्ति दिइएको थियो, जुन प्रेस स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप हो ।
महासंघले आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल कानुनी कारबाही गर्न, घाइते पत्रकारको उपचारको व्यवस्था गर्न र यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

