जनकपुरधाम, ११ भदौ । भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व हर्षोल्लास पूर्वक मनाउँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ ।
धार्मिक, साँस्कृतिक एवं सामाजिक क्षेत्रमा क्रियाशील भई कार्य गर्दै आएका गणेश युवा कमिटीले जनकपुरधामको रामचौकमा भव्यताका साथ गणेश पूजनोत्सव मनाएका छन् ।
गणेश युवा कमिटीका अध्यक्ष सन्तोष महतोले भने ‘स्थापनाकालदेखि नै भव्यताका साथ गणेश पूजा गर्दै आएका छौ । यसले समाजिक सद्भाव, धार्मिक ऐतिहासिक संरक्षण र जनचेतना फैलाउने कार्यमा सहयोग पुरयाउँदै आएको हो । प्रतिवर्ष यो कमिटीले समाजिक मानमर्यादा तथा प्रतिष्ठालाई ख्याल गरी हर्षाेल्लास पूर्वक यो पूजनोत्सव मनाउने गरेको छ । यसवर्ष पनि गणेश पूजालाई निरन्तरता दिने कार्य गरेको हो ।’
उहाँले भन्नुभयो ‘पूजा चार दिवसीय मनाउने विगतदेखि हाम्रो परम्परा हो । पूजा महोत्सव भरि भजन, कीर्तन, सांस्कृति कार्यक्रम तथा धार्मिक महत्वको झल्काउने कार्य गर्ने गर्दै आएको छ । गणेश युवा कमिटी सधैं धर्म, संस्कृति, समाजिकताको क्षेत्रमा कार्य गर्दै आएको सर्वविदित नै छ । त्यसैले पूजालाई भव्यता प्रदान गर्न गणेश युवा कमिटी परिवार सम्पूर्ण नगरवासी तथा श्रद्धालुहरुमा हार्दिक आमन्त्रण पनि गरेको थियो । ’

गणेश युवा कमिटी केवल पूजामा सीमित छैन, यसले धर्म, संस्कृति र सामाजिकता प्रवद्र्धन गर्ने विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । पूजनोत्सवकै अवसरमा आयोजित सांस्कृतिक तथा सामाजिक गतिविधिहरूले समाजमा सकारात्मक सन्देश फैलाउँछन—धर्मसँगै समाजसेवा र सांस्कृतिक संरक्षण पनि हाम्रो कर्तव्य हो भन्ने बोध गराउँछन् उहाँले थप्नु भयो ।
सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेश चतुर्थी पर्व मनाइँदै छ ।


