जनकपुरधाम, १५ भदौ । साहित्यकार एवं पत्रकार श्यामसुन्दर ‘शशि’द्वारा लिखित कृति ‘जनकपुरधामके इतिहास’ माथि आयोजित पुस्तक परिचर्चा कार्यक्रममा साहित्य, इतिहास र पठन संस्कृतिबारे गम्भीर बहस भएको छ ।
मैथिली विकास कोषले पुस्तकालय दिवसको अवसरमा आयोजना गरेको उक्त कार्यक्रममा वक्ताहरूले जनकपुरधामको ऐतिहासिक, सांस्कृतिक र सामाजिक आयामलाई व्यवस्थित गर्न शशिको पुस्तकले ठूलो योगदान दिएको धारणा राखेका छन । उनीहरूले इतिहास लेखन सामान्य कार्य नभएको प्रष्ट पार्दै, लेखकले जनकपुरधामको आधुनिक विकास यात्रा, सन्त परम्परा, माइरामको शुरुवात, राजनीतिक घटनाक्रमदेखि अस्पताल, विद्यालय, नेपाल रेल्वे, उद्योग वाणिज्य संघ, जनकपुर चुरोट कारखाना जस्ता संस्थापनासम्मको विवरणलाई तथ्यपरक र विश्लेषणात्मक ढंगले प्रस्तुत गरेको बताए ।

कार्यक्रममा सहभागीहरूले वर्तमान पुस्तामा पठन प्रवृत्ति हराएको होइन तर बदलिँदो अध्ययनशैलीका कारण यसको स्वरूप मात्र रूपान्तरण भएको बताएका थिए । डिजिटल युगले नयाँ अध्ययनको बाटो खोलिदिए पनि पुस्तक पढ्ने संस्कृतिको महत्त्व अझै उत्तिकै रहेको उनीहरूको निष्कर्ष थियो । युवापुस्ताले यस परम्परालाई निरन्तरता दिनुपर्ने र जनकपुरधामले मिथिला क्षेत्रमा साहित्य–संस्कृतिको नेतृत्व लिनुपर्ने आवाज कार्यक्रमभर गुन्जिएको थियो ।

मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राजर्षि विश्वविद्यालयका उपउपकुलपति अखिलेश यादव, साहित्यकार तथा राजनीतिकर्मी वृषेशचन्द्र लाल, संस्कृतिविद् डा. विजयकुमार सिंह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह, प्राध्यापक परमेश्वर कापडि, प्रा.डा. सुरेन्द्र लाभ, साहित्यकार–राजनीतिकर्मी शीतल झा, नाटककार रमेश रञ्जन झा लगायतका व्यक्तित्वहरूले पुस्तक र पठन संस्कृतिबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
झण्डै तीन घण्टासम्म चलेको उक्त परिचर्चाले पुस्तकको महत्व मात्र होइन, जनकपुरधामको इतिहास र पठन संस्कृतिको संरक्षणबारे सामूहिक चेतना जगाउने अभियानको स्वरूप लिएको थियो । कार्यक्रमको निष्कर्षमा पुस्तक लेखन, प्रकाशन र पुस्तकालय सुदृढीकरणका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई जिम्मेवार बन्नुपर्ने माग प्रस्तुत गरियो ।

