सर्लाही, १७ भदौ । नेपाल सरकारको साझेदारीमा, युनिसेफ नेपाल तथा युरोपियन युनियनको सहयोगमा “गुणस्तरीय सिकाइका लागि स्थानीय तह तथा विद्यालयहरूको क्षमता अभिवृद्धि कार्यक्रम” अन्तर्गत समावेशी शिक्षा, फरक क्षमता पहिचान र व्यक्तित्व शैक्षिक योजना सम्बन्धी पाँचदिने शिक्षक तालिम महोत्तरीको बर्दिवासमा सम्पन्न भएको छ ।
लालबन्दी नगरपालिकाका १५ विद्यालयका ३० जना शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको तालिम यहि भदौ १३ देखि १७ गतेसम्म बर्दिवास स्थित शैक्षिक तालिम केन्द्रमा सम्पन्न भएको हो । तालिमको उद्घाटन पिपल प्रोमोट सेन्टरका कार्यकारी सदस्य नेम्बर रायले स्वागत मन्तव्यसहित गर्नुभएको थियो ।

तालिमलाई शैक्षिक तालिम केन्द्र बाराका शाखा अधिकृत मुनिलाल प्रसाद चौहान तथा रोस्टर प्रशिक्षक खड्क बहादुर श्रेष्ठ र रामसिंहसन यादवले सहजीकरण गर्नुभएको थियो । प्रशिक्षकहरूले फरक क्षमता भएका बालबालिकालाई औपचारिक पठनपाठनबाट वञ्चित हुन नदिई, उनीहरूको आवश्यकता पहिचान गरेर नियमित विद्यालयमा अध्ययन गराउन स्थानीय सरकार र सामाजिक संयन्त्रले सकारात्मक सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
शिक्षाविद् सितेश तिवारीले बालबालिकालाई राष्ट्रको सुन्दर बगैँचासँग तुलना गर्दै बालअधिकार संरक्षण र उत्थानलाई अनिवार्य बताएका थिए। उनले फरक क्षमतालाई अभिशाप नभई अवसरका रूपमा स्वीकार गर्दै, बालबालिकाको लागि वैकल्पिक शैक्षिक सामग्री निर्माण गरेर गुणस्तरीय शिक्षा सुनिश्चित गर्नुपर्नेमा बल दिएका थिए।
त्यस्तै, पिपल प्रोमोट सेन्टरका अध्यक्ष कमलेश कुमार मण्डलले तालिमको महत्व र आगामी कार्ययोजना बारे प्रकाश पार्दै फरक क्षमता भएका बालबालिकाको पनि शैक्षिक गुणस्तर उन्नयन तथा अधिकार संरक्षण गर्न जरुरी रहेको बताए। उनले व्यक्तित्व शैक्षिक योजना तयार गरेर गुणस्तरीय शिक्षा मार्फत बालबालिकाको भविष्य सुरक्षित र संरक्षित गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

