जनकपुरधाम, ३ असोज । संविधान दिवसकै दिन संघीय लोकतान्त्रिक मोर्चाले मधेशमा ‘कालो दिवस’ मनाएको छ । मोर्चाले सात वर्षअघि असोज ३ गते जारी गरिएको संविधानलाई मधेशी जनताको भावनाविपरीत तथा विभेदपूर्ण बताउँदै त्यस दिनलाई विरोधस्वरूप कालो दिवसका रूपमा मनाउने परम्परा कायम राख्दै आएको छ ।

मोर्चाको केन्द्रीय सर्कुलरअनुसार शुक्रबार जनकपुरधामसहित मधेशका विभिन्न जिल्लामा मोर्चाअधीनस्थ दलहरुले संयुक्त रुपमा विरोध कार्यक्रम सञ्चालन गरेका थिए । जनकपुरधामको जनकचोकमा आयोजित कार्यक्रममा मोर्चाका नेताहरूले टाउकोमा कालो पट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले संविधानलाई मधेश र मधेशी जनताको अधिकार विपरीतको दस्तावेज भएको दाबी गर्दै संविधानमा व्यापक सुधार र परिमार्जनको आवश्यकता रहेको दोहोर्याए ।
संघीय लोकतान्त्रिक मोर्चामा आबद्ध जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल लगायत दलका नेताहरूको सहभागितामा आयोजित कार्यक्रममा संविधान संशोधनका मागहरू उठाइएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेताहरूले संविधान निर्माण प्रक्रियामा मधेशी, थारू, आदिवासी, जनजाति, महिला तथा पिछडिएका वर्गको आवाजलाई बेवास्ता गरिएको आरोप लगाए । उनीहरूले विभेदपूर्ण संविधान जारी गरेर मधेशी जनताको छातीमा गोली प्रहार गरिएको पीडादायी स्मरण गर्दै संघीय लोकतान्त्रिक मोर्चा र त्यसका घटक दलहरूको आन्दोलन अझै जारी रहेको स्पष्ट पारे ।
मोर्चाका नेताहरूले मधेशसँगै देशका अन्य वञ्चित समुदायहरूको हक अधिकार सुनिश्चित नभएसम्म संविधानले पूर्ण स्वीकृति नपाउने दाबी गर्दै अबिलम्ब संशोधनमार्फत सबै समुदायलाई समान अधिकार दिलाउन सरकार र प्रमुख दलहरूप्रति दबाब दिने घोषणा गरेका छन् ।

