जनकपुरधाम, ४ असोज । गैर सरकारी संस्था पिपल प्रोमोट सेन्टर, धनुषाले शनिवार भव्य कार्यक्रमका साथ आफ्नो १७ औं वार्षिक साधारण सभा तथा ६ औं अधिवेशन सम्पन्न गरेको छ ।
जनकपुरधाममा सम्पन्न साधारण सभामा संस्थाले हालसम्मका कामहरू र आगामी योजनाहरू सार्वजनिक गरेका हुन ।
प्रस्तुत वार्षिक प्रतिवेदनअनुसार, संस्था स्थापना भएको वि.सं. २०६४ सालदेखि सामाजिक विकास, क्षमता विकास, नागरिक समाज सुदृढीकरणका साथै शिक्षा, स्वास्थ्य, खानेपानी, लैङ्गिक समानता, वातावरण, कृषि तथा जीविकोपार्जनलगायतका क्षेत्रमा निरन्तर कार्य गर्दै आएको उल्लेख गरिएको छ ।
संस्थाका अध्यक्ष कमलेश कुमार मण्डलको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेम्वर राईले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार, मधेश प्रदेशका ७० स्थानीय तहमा विद्यालय शिक्षा योजना तयार गरिएको र तीमध्ये ५५ स्थानीय तहले स्वीकृति दिइसकेको छ।
त्यस्तै, कक्षा १ देखि ३ सम्मका शिक्षकलाई बहुभाषिक शिक्षण सिकाइ प्रक्रिया र एकीकृत पाठ्यक्रम सिकाइ सम्बन्धी क्षमता अभिवृद्धि तालिम दिइएको, ४२ घरपरिवारलाई स्वास्थ्य तथा दुर्घटना बीमा गरिएको, चुरे संरक्षण, वातावरण तथा जल संरक्षणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ। साथै, गुणस्तरीय शिक्षा र समुदाय सशक्तीकरणका लागि विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिएको बताइएको छ।

संस्थाले प्रस्तावित भावी योजनामध्ये संसदीय निगरानी तथा सार्वजनिक सुनुवाइ कार्यक्रम, मुसहर समुदायका महिलाका लागि जीविकोपार्जन सुधार कार्यक्रम, लैङ्गिक हिंसाविरुद्धका कार्यक्रम, जलवायु परिवर्तन तथा वातावरण अनुकूलन सम्बन्धी अध्ययन अनुसन्धान, खानेपानी तथा सरसफाई, भौतिक पूर्वाधार निर्माण, दलित–उत्पीडित महिला तथा फरक क्षमताका व्यक्तिहरूका लागि सीपमूलक तालिम सञ्चालन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।

शिक्षा तथा संस्कृति मन्त्रालयका प्रशासकीय प्रमुख दिलीप मुखियाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार श्यामसुन्दर शशी, कैलास दास, युनिसेफ नेपालका इन्द्रप्रसाद गुप्ता, प्रेक्षा मल्ल, डा. प्रमोदकुमार यादव, लक्ष्मेश्वर मण्डल, लालबाबु हातीसहितका वक्ताहरूले आफ्ना विचार व्यक्त गरेका थिए।

