जनकपुरधाम, ६ भदौ । नेपालीहरूको महान् पर्व वडा दशैं आजदेखि विधिवत् रूपमा सुरु भएको छ । पहिलो दिनलाई घटस्थापना भनेर चिनिन्छ । आज घरघरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरी शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वानसहित पूजापाठ आरम्भ गरिएको छ ।
घटस्थापनाको पूर्वसन्ध्यामा जनकपुरधामका शक्तिपीठ मन्दिरहरू दुलही झैँ सिंगारिएका छन् । बजारमा चहलपहल बढेको छ भने श्रद्धालुहरू पूजापाठका सामग्री किनमेलमा व्यस्त देखिन्छन् । रामचौकस्थित राममन्दिर, राजदेवी मन्दिर, अन्नपूर्णा मन्दिर, बौद्धीमाई मन्दिरलगायतका धार्मिक स्थलमा विद्युतीय सजावट र भव्य पण्डालहरूले श्रद्धालुहरूको आकर्षण बढाएका छन् । त्यस्तै कदमचौकको सोनामाई मन्दिर, मुरलीचौकको दूर्गामन्दिर, रामानन्द चौकका विभिन्न मठ(मन्दिरहरू दुर्गाभक्ति गीतले गुन्जायमान भएका छन् ।

घटस्थापनासँगै जनकपुरधाममा दशैं मेलाको पनि शुरुवात हुन्छ । रामचौकस्थित गोपाल धर्मशालामा दशैं मेला भव्य रूपमा आयोजना हुँदै आएको छ । करिब छ दशकदेखि जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्वमा लाग्ने यो मेला घटस्थापनाकै दिन उद्घाटन गर्ने परम्परा रहँदै आएको छ । दशैं मेलामा नेपाल भारत लगायतका उपभोक्ताहरु आउने गर्दछन् ।

घटस्थापनाका दिन श्रद्धालुहरूले नजिकको नदी वा शुद्ध स्थलबाट ल्याइएको बालुवा वा माटो पूजा कोठा अथवा दशैं घरमा गाईको गोबरले लिपपोत गरी राख्छन् । त्यसैमा जौ (यव) रोपिन्छ । दुर्गा देवीको प्रिय मानिने जौको अंकुरलाई विजया दशमीको दिन देवीलाई अर्पण गरी समृद्धिको प्रतीक पहेँलो जमरा टीका(प्रसादसँगै धारण गर्ने परम्परा रहिआएको छ ।
यस दिन कलश (घडा) स्थापना गरी शक्तिस्वरूपा दुर्गाको विशेष पूजा गरिन्छ, त्यसैले यो दिनलाई घटस्थापना भनिन्छ । स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिन देवीको प्रसादका रूपमा ग्रहण गरिन्छ ।
नवरात्रभर देवी दुर्गाका तीन रूप(महाकाली, महालक्ष्मी र महासरस्वतीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिन्छ । महाकालीलाई शक्तिको प्रतीक, महालक्ष्मीलाई धन(धान्य र ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या(बुद्धिको प्रतीकका रूपमा पूजा गर्ने परम्परा नेपाली समाजमा विद्यमान छ ।

