जनकपुरधाम, १२ असोज । मिथिलामा दशहारा पर्व (बडादसैँ) अन्तर्गत विशेष महत्व राख्ने परम्परागत विधि ‘बेलनौत’ आज उल्लासपूर्वक सम्पन्न गरिएको छ । शारदीय नवरात्रको षष्ठी तिथिमा गरिने यो विधिमा शक्ति पीठका पुजारी तथा पण्डितहरू बाजागाजासहित बेल रुखसम्म पुगेर पूजा गरी बेल फललाई निमन्त्रणा (नौत) दिने चलन रहिआएको छ ।
मिथिलामा स्थापित देवी प्रतिमाको आँखा सप्तमीका दिन मात्र खोलिन्छ । त्यसअघि षष्ठीका दिन बेलको रुखको एउटै हाँगामा फलेको जोडी बेललाई रातो कपडाले बेरेर निमन्त्रणा गरिन्छ । सो बेललाई सप्तमीका दिन काटेर पालकीमा राखी शक्ति पीठमा ल्याइन्छ । पूजापाठ गरी ल्याइएको बेलको पातको डाँठ (भेट्नु) बाट देवी प्रतिमाको आँखा कोट्याएर उघारिन्छ, जसलाई देवी प्रतिमा पूर्ण रूपमा जीवित र जागृत भएको प्रतीक मानिन्छ ।
बर्दिबास–२ का वैदिक परम्पराका जानकार महेशकुमार झाका अनुसार “माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा भेट्नोले खोलेपछि मात्र देवीलाई सजीव मानिन्छ र सर्वसाधारणका दर्शनका लागि प्रतिमा खुला गरिन्छ ।”

सप्तमीको दिन बिहानै बाजागाजासहित बेल टिप्न जाने चलनलाई ‘बेलतोडी’ भनिन्छ । यस दिन षष्ठीमा निमन्त्रणा गरिएको बेलको फल भेट्नोसहित काटेर ल्याइन्छ र पुजारीले त्यसैबाट देवीको आँखा उघार्छन् ।
मिथिला क्षेत्रका अधिकांश बस्तीमा दशहारा पर्वका अवसरमा माटो मुछेर देवी प्रतिमा स्थापना गरिन्छ । यी प्रतिमाहरू विजयादशमीका दिन धार्मिक महत्वका नदी वा तलाउमा विसर्जन (मूर्ति भसाउने) गर्ने परम्परा रहेको छ । यसबाहेक काठ वा धातुका स्थायी प्रतिमा भएका मन्दिरमा आँखा उघार्ने विधि नभए पनि, निम्त्याइएको बेललाई देवी प्रतिमासामु अर्पण गर्ने चलन यथावत रहन्छ ।
यसरी दशहरा पर्वमा मिथिला समाजले ‘बेलनौत’ र ‘बेलतोडी’ जस्ता अनुष्ठानमार्फत नवरात्रको धार्मिक वातावरणलाई अझै जीवन्त र आस्थापूर्ण बनाउने परम्परा जोगाउँदै आएको छ ।

