जनकपुरधाम, १३ कात्तिक । धनुषाको बटेश्वर गाउँपालिकामा क्रियाशील गैर सरकारी संस्था आफन्त नेपालले पछिल्ला पाँच वर्षमा शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, वातावरण र क्षमता विकासका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको छ । गाउँका जनजीवनमा आएको सकारात्मक परिवर्तनले संस्थाको कामको प्रभावलाई प्रत्यक्ष अनुभूति गराएको स्थानीयहरूले बताएका छन् ।
विहीबार बटेश्वर गाउँपालिका–३ मा सम्पन्न सामाजिक लेखापरीक्षण कार्यक्रममा सहभागी स्थानीय बासिन्दा, शिक्षक, जनप्रतिनिधि र सरोकारवालाहरूले आफन्त नेपालले गरेको कामको प्रशंसा गर्दै यसको निरन्तरता आवश्यक रहेको बताएका छन् । कार्यक्रममा विद्यालय सुधारदेखि महिला सशक्तिकरण, युवाको रोजगारी र किसानको उत्पादन वृद्धिसम्मका कार्यहरू प्रस्तुत गरिएको थियो ।
स्थानीय रामलखन साहले भने, “राज्यले गर्नुपर्ने धेरै जिम्मेवारी आफन्तले पूरा गरेको छ । गाउँमा शिक्षा र रोजगारी दुबैमा परिवर्तन आएको छ ।” उनका अनुसार पाँच वर्षअघि गाउँमा धेरै युवाहरू बेरोजगार थिए, विद्यालयहरूमा आवश्यक सामग्री अभाव थियो र महिलाहरू आर्थिक दृष्टिले निर्भर थिएन । अहिले भने धेरै युवाले सीप विकास तालिम लिएर व्यवसाय सुरु गरेका छन्, विद्यालयमा विद्यार्थीहरूको उपस्थिति बढेको छ र महिलाहरू आत्मनिर्भर बन्दै गएका छन् ।
आफन्त नेपालका कार्यकारी निर्देशक जयप्रकाश मण्डलका अनुसार बटेश्वर गाउँपालिकामा पाँच वर्षमा करिब ६ करोड ६१ लाख रुपैयाँ बराबरका विकास गतिविधि सम्पन्न भएका छन् । “यसमा फिडा इन्टरनेशनलको सहयोग पाँच करोड रुपैयाँ बराबरको छ भने बाँकी एक करोड ६१ लाख रुपैयाँ स्थानीय निकाय र समुदायको सहभागिताबाट जुटाइएको हो,” मण्डलले जानकारी दिएका छन् ।

आफन्त नेपालले शिक्षा क्षेत्रमा विशेष जोड दिएको छ । विद्यालयका शिक्षक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापकहरूका लागि क्षमता विकास तालिम, बाल विकास शिक्षिका तालिम, अभिभावक सचेतना तालिम, र विद्यार्थीहरूका लागि कम्प्युटर तथा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । यससँगै विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, संरक्षण र आवश्यक शैक्षिक सामग्री वितरण कार्य पनि गरिएको उनले बताए ।
आफन्त नेपालले स्वास्थ्य क्षेत्रमा पनि संस्थाले उल्लेखनीय काम गरेको छ । विभिन्न विद्यालयहरूमा स्वास्थ्य शिविरहरू, स्वास्थ्य सामग्री वितरण, र स्वच्छता सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै विद्यार्थी र स्थानीयमा स्वास्थ्यप्रतिको ध्यान बढाएको छ ।
जीविकोपार्जन र सीमान्तकृत समुदायको सशक्तिकरणमा समेत आफन्त नेपालले उल्लेखनीय योगदान पु¥याएको छ । सीमान्तकृत र विपन्न परिवारका महिलालाई सिलाइ मेशिन वितरण, युवाहरूलाई इलेक्ट्रिक तालिम र टुलकिट वितरण, किसानहरूलाई सिँचाइ सामग्री, बीउ र कृषि उपकरण उपलब्ध गराउने, र पशुपालनका लागि बाख्रा वितरण कार्यक्रम सञ्चालन गरिएको छ ।
बटेश्वर–३ का वडाध्यक्ष राममणि कुशवाहाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले भने, “आफन्त नेपालले गाउँपालिकाको रूपान्तरणमा माइलस्टोन स्थापित गरेको छ । यस्तो कामले समुदायलाई स्वावलम्बी र सचेत बनाएको छ ।”
त्यस्तै स्थानीय युवा अनिल कुमार महतोले आफन्त नेपालको कार्यक्रमबाट लाभ उठाउँदै जीवनमा ठूलो परिवर्तन आएको बताए । “पहिले म बेरोजगार थिएँ । आफन्तको सहयोगमा अहिले म आफ्नो पसल चलाउँदैछु र परिवार पाल्न सक्षम भएको छु,” उनले भने ।
पर्यावरण संरक्षणका क्षेत्रमा समेत आफन्त नेपालले वृक्षारोपण, वातावरणीय सचेतना र संरक्षण अभियान सञ्चालन गरेको छ। यसले गाउँमा हरियाली बढाएको र जनचेतनाको स्तर उकासेको स्थानीयहरूले बताएका छन् ।
कार्यक्रममा फिडा इन्टरनेशनलका प्रोजेक्ट म्यानेजर कालीराम चौधरी, आफन्त नेपालका उपाध्यक्ष प्रदीप मरबैता, शिक्षक तथा पत्रकार दीपेन्द्र सिंह, पत्रकार कैलास दास, विद्यालयका प्रधानाध्यापक छटु लाल महतो, अशोक ठाकुर, कर्ण महतो, सुष्मा लामा लगायतका व्यक्तिहरूले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै त्यसलाई दीगो बनाउन प्रदेश र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको सुझाव दिएका थिए।

