जनकपुरधाम, २२ कात्तिक । मधेश प्रदेशको नीति निर्माण, कानुन निर्माण र जनजीवनका सवालमा तथ्यपूर्ण र जिम्मेवार रिपोर्टिङ गर्ने उद्देश्यले ‘संसदीय पत्रकार मञ्च’ गठन गरिएको छ ।
मञ्चका संयोजक निरंजन साहको नेतृत्वमा गठन भएको टोलीले शनिवार मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई मञ्च गठनबारे औपचारिक जानकारी गराएको छ । टोलीले सभामुखलाई जानकारीपत्र बुझाउँदै प्रदेशसभासँग नजिक रहेर पारदर्शी सूचना प्रवाहमा सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएको छ । मञ्चका पदाधिकारीहरूले सभामुख मण्डललाई बुझाएको जानकारीपत्रमा भनिएको छ “प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्यहरूले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक विषयमा निरन्तर बहस गर्दै आएका छन् । ती बहस, विचार र धारणा प्रदेशका नागरिकहरूसम्म पुग्नु लोकतान्त्रिक अभ्यासको अनिवार्य हिस्सा हो ।”
मञ्च गठनको उद्देश्य प्रदेशसभा र जनताबीचको सूचना प्रवाहलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने रहेको छ। प्रदेशसभामा चल्ने छलफल, विधेयक, नीति तथा प्रस्तावहरू, जनसरोकारका विषयहरू र प्रदेश सरकारको जवाफदेहीताबारे तथ्यपरक समाचार प्रस्तुत गर्ने साझा संयन्त्रको रूपमा यस मञ्चलाई विकसित गरिने जनाइएको छ। यस मञ्चमा मधेश प्रदेशका विभिन्न सञ्चार माध्यम प्रिन्ट, अनलाइन, रेडियो र टेलिभिजनमा सक्रिय पत्रकारहरूको सहभागिता रहेको छ ।
मञ्चले प्रदेशसभाको समाचारलाई व्यवस्थित, सन्तुलित र जनमुखी ढङ्गले प्रस्तुत गर्ने दीर्घकालीन कार्ययोजना अघि सारेको छ । यसै क्रममा मञ्चले पाँच बुँदे कार्ययोजना सार्वजनिक गरेको छ । पहिलो, प्रदेशसभाको हरेक अधिवेशन, बैठक र समितिहरूमा पत्रकारको प्रत्यक्ष उपस्थितिलाई सुनिश्चित गरी प्रत्यक्ष समाचार संकलनको व्यवस्था मिलाइनेछ । दोस्रो, सभामा उठाइएका जनसरोकारका विषय, प्रस्ताव र विधेयकबारे नियमित प्रेस विज्ञप्ति, समाचार र विश्लेषण प्रकाशित गरिनेछ। तेस्रो, पत्रकार र सभासदबीच सूचना प्रवाह र समन्वयका लागि विशेष सूचना सहायता कक्ष स्थापना गरिनेछ। चौथो, प्रदेशसभा सचिवालयसँग औपचारिक सहकार्य सम्झौता गरेर पत्रकारहरूको कार्यलाई सहज, सुरक्षित र व्यवस्थित बनाइनेछ। पाँचौँ, संसदीय अभ्यास र लोकतान्त्रिक सञ्चार सम्बन्धी तालिम, गोष्ठी र अन्तरक्रिया कार्यक्रमहरू नियमित रूपमा आयोजना गरिनेछन्।
सभामुख रामचन्द्र मण्डलले पत्रकार टोलीलाई स्वागत गर्दै प्रदेशसभाको कार्य र नीति जनतासम्म पारदर्शी रूपमा पु¥याउन सञ्चार माध्यमको भूमिका अपरिहार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रमा संसद र पत्रकारिताको सम्बन्ध अत्यन्त घनिष्ठ हुन्छ । पत्रकारहरूले सभामा हुने बहस, नीति र निर्णय जनतासम्म जिम्मेवार रूपमा पु¥याउँदा शासन प्रणालीमा पारदर्शिता र जवाफदेहीता बढ्छ।” सभामुखले मञ्चको स्थापना प्रदेशसभा र नागरिकबीचको सूचना सेतुका रूपमा प्रभावकारी हुने विश्वास पनि व्यक्त गर्नुभयो।
मञ्चका संयोजक निरञ्जन साहका अनुसार, यस संस्थाको मुख्य उद्देश्य प्रदेशसभामा भइरहेका नीतिगत बहस, निर्णय र विधेयक निर्माण प्रक्रियालाई जनस्तरसम्म जानकारीमुखी ढङ्गले पु¥याउने हो । उनले भने, “संसद जनताको प्रतिनिधि संस्था हो र पत्रकारिता जनताको आँखाको रूपमा काम गर्छ। दुबैबीचको सहकार्यले लोकतन्त्रलाई अझ सशक्त बनाउन सक्छ ।”
पत्रकारहरूको भेलाले मञ्च गठनसँगै पारित गरेका निर्णयहरूको प्रतिलिपि सभामुखलाई बुझाइएको छ। भेलाले मञ्चलाई दिगो, निष्पक्ष र जिम्मेवार संस्थाको रूपमा विकसित गर्ने र प्रदेशसभा सचिवालयसँग आवश्यक औपचारिक सहकार्यका लागि अनुरोध गर्ने निर्णय पनि गरेको छ।
मधेश प्रदेशमा यसअघि कुनै औपचारिक संसदीय पत्रकार मञ्च नहुँदा सभाको समाचार कवरेज व्यक्तिगत प्रयासमा मात्र सीमित रहँदै आएको थियो। नयाँ मञ्च गठनसँगै अब प्रदेशसभाको नीति बहस, निर्णय प्रक्रिया र जनसरोकारका मुद्दाहरू एकीकृत र प्रभावकारी पत्रकारितामार्फत व्यापक रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ। यस मञ्चको गठनले मधेश प्रदेशमा संसदीय पत्रकारिताको नयाँ अभ्यास र पारदर्शी सूचनाको संस्कृति विकास गर्ने महत्त्वपूर्ण कदमका रूपमा मूल्यांकन गरिएको छ ।



