जनकपुरधाम, २९ कात्तिक । जनकपुर–१४ मुजेलियामा बहुजन एकता पार्टी नेपालको मधेस प्रदेश जनसम्पर्क कार्यालय आज भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको छ। मधेसमा बहुजन आन्दोलनलाई संगठित, सशक्त र योजनाबद्ध रूपमा विस्तार गर्ने उद्देश्यसहित स्थापना गरिएको यो कार्यालयलाई पार्टीले आफ्नो संगठनात्मक यात्राको महत्वपूर्ण मोडका रूपमा वर्णन गरेको छ।
उद्घाटन समारोहका प्रमुख आकर्षण तथा मुख्य अतिथि पार्टीका राष्ट्रिय अध्यक्ष हरिनन्दन कुमार रंजन रहे। अध्यक्ष रंजनको उद्घाटन मन्तव्यसँगै मधेसमा बहुजन राजनीतिक अभियान अब नयाँ चरणमा प्रवेश गरेको पार्टी नेतृत्वले जनाएको छ।
कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता राजाराम पासवानले मधेसका बहुजन समुदायले आजसम्म भोग्दै आएका संरचनात्मक असमानता, प्रतिनिधित्वको अभाव र आवाजको उपेक्षा जस्ता समस्यालाई अब राजनीतिक रूपमा व्यवस्थित ढंगले उठाउँदै जाने बताउँदै जनसम्पर्क कार्यालय यस अभियानको केन्द्रबिन्दु बन्ने विश्वास व्यक्त गरे।
समारोहमा महासचिव सुरज महरा, वरिष्ठ नेता तथा संगठन अभियन्ता प्रकाश मेहरा, युवा नेता बृहद्रथ कुश्वाहा, केन्द्रीय कोषाध्यक्ष लक्ष्मी मण्डल, केन्द्रीय सचिव यशोदा तिम्ल्सिना, केन्द्रीय सदस्यहरू बुधनी देवी, उदय सहनी र सकुर भाटको उपस्थिति उल्लेखनीय थियो। त्यस्तै, बरहथवा नगरपालिका–१० की वडा अध्यक्ष तथा महिला अधिकारकर्मी सर्मिला कुमारी रामसहित रामेश्वर महरा, वैधनाथ पासवान, शत्रुघन महरा लगायतका सम्मानित अतिथिहरूको सहभागिताले कार्यक्रमलाई थप गौरवमय बनायो।
उद्घाटन समारोहमा बहुजन एकता पार्टीले मधेसमा “समानता, सामाजिक न्याय, आत्म–सम्मान र राजनीतिक सशक्तिकरण” लाई केन्द्रबिन्दु बनाई अब छिटो गतिमा जनसम्पर्क विस्तार, संगठन सुदृढीकरण तथा जनचेतनामूलक अभियान सञ्चालन गर्ने घोषणा ग¥यो।
पार्टी नेतृत्व तथा सहभागी कार्यकर्ताहरूले यो उद्घाटन मधेसमा बहुजन समुदायको हक–अधिकार, पहिचान र राजनीतिक सहभागिताका मुद्दामा नयाँ ऊर्जा, उत्साह र दिशा प्रदान गर्ने ऐतिहासिक घटना भएको टिप्पणी गरे।

