जनकपुरधाम, १० मंसिर । त्रेतायुगमा भगवान श्रीराम र भगवती सीताको दिव्य विवाह सम्पन्न भएको स्मृतिमा मनाइने ‘विवाहपञ्चमी महोत्सव’ अन्तर्गत आज जनकपुरधाममा भव्यतापूर्वक स्वयम्बर कार्यक्रम सम्पन्न गरिएको छ । मंसिर ४ गतेदेखि शुभारम्भ गरिएको सप्ताहव्यापी विवाह महोत्सवको छैटौँ दिन आज (मंगलवार) परम्परागत वैभव, धार्मिक उत्साह र सांस्कृतिक उल्लासपूर्ण वातावरणमा स्वयम्बर भएको छ ।

विवाहपञ्चमी महोत्सवको मूल आकर्षणका रूपमा रहने स्वयम्बर तथा नगर परिक्रमा वर्षेनि झैँ यस वर्ष पनि अत्यन्त भव्य र अविस्मरणीय बनेको छ । दिउँसो १ बजे जानकी मन्दिर, राम मन्दिरलगायतका महत्वपूर्ण देवालयहरूबाट भगवान राम र माता सीताको प्रतिमासहितको डोला निस्केर रंगभूमि मैदान पुग्यो । रंगभूमि मैदानमा सम्पन्न स्वयम्बर कार्यक्रममा हजारौँ वर्ष पुरानो पौराणिक कथा प्रत्यक्ष अनुभूति हुने वातावरण निर्माण भएको थियो ।

स्वयम्बर सम्पन्न भएपछि जनकपुरधामको परम्परागत मार्गअनुसार विशाल नगर परिक्रमा गरी पुनः जानकी मन्दिरमा डोला फर्काइएको थियो । यसवर्ष नेपालका विभिन्न प्रदेश तथा भारतका मिथिला, उत्तर प्रदेश, बिहारलगायत क्षेत्रबाट आएका लाखौँ श्रद्धालु स्वयम्बर तथा नगर परिक्रमा अवलोकनमा सहभागी भएका छन् । धेरै भक्तजन सोमबार रातिदेखिनै जनकपुरधाम आइपुगेका थिए भने मंगलवार अबेरसम्म पनि आगमनको क्रम निरन्तर जारी थियो ।

स्वयम्बर कार्यक्रम सम्पन्न भएपछि राति जानकी मन्दिर प्राङ्गणमा राम(सीताको दिव्य विवाहोत्सव भव्यरूपमा मनाइएको छ । मन्दिरका महन्थ रामतपेश्वर दासका अनुसार बाहिरी प्रदेशबाट आएका अधिकांश भक्तजनहरू विवाह उत्सवको अवलोकनपछि आफ्नो गन्तव्यतर्फ फर्किने छ ।
विवाहपञ्चमी महोत्सवका लागि जनकपुरधामभरि सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । बिहानैदेखि जानकी मन्दिर, राम मन्दिर तथा रंगभूमि मैदान परिसरमा सवारी साधन प्रवेशमा प्रतिबन्ध लगाइएको छ । साथै शहर प्रवेश गर्ने सबै नाकाहरूमा सुरक्षाकर्मीद्वारा कडाइका साथ चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रुगम कुँवरले जानकारी दिएका छन् । सुरक्षालाई थप प्रभावकारी बनाउन पोशाकधारी तथा सादा पोशाकमा प्रहरी बलका अतिरिक्त अन्य सुरक्षा निकायका संयन्त्रहरू पनि परिचालन गरिएको छ ।

विवाहपञ्चमीको अवसरमा जनकपुरधामका मठ(मन्दिरहरू दुलहीझैँ श्रृंगारिएका छन् । बाहिरबाट आएका हजारौँ भक्तजनहरू जानकी मन्दिर, राम मन्दिर, रंगभूमि मैदान, जनकपुरधाम रेल्वे स्टेशन तथा विभिन्न आश्रम(मठमन्दिरहरूमा बसोबास गरिरहेका छन् । स्थानीय संघसंस्थाहरूले समेत भक्तजनका लागि खाने(बस्ने व्यवस्था मिलाएका छन् ।
शहरभरि मैथिली विवाह गीत गुञ्जित भइरहेका छन्। यी गीतले वातावरणमा पवित्रता, आस्था र उल्लास थपिदिँदा भक्तजनहरू रमाइरहेका छन् ।
विवाह महोत्सव अन्तर्गत पहिलो दिन ‘नगर दर्शन’, दोस्रो दिन ‘फुलबारी लीला’, तेस्रो दिन ‘धनुष यज्ञ’, चौथो दिन ‘तिलकोत्सव’ तथा पाँचौँ दिन ‘जानकीको मटकोर विधि’ सम्पन्न भइसकेका छन्।विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक बिदा प्रदान गरेको छ, जसले जनकपुरधाममा धार्मिक पर्यटनको चहलपहल झनै बढाएको छ ।

