जनकपुरधाम, १२ मंसिर । आसन्न निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय तीन दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंसिर १० गतेबाट सुरू भएको प्रशिक्षणमा पार्टीका शीर्ष नेतृत्वदेखि विभिन्न तहका जनप्रतिनिधिसम्मको सहभागीता रहेको जनाइएको छ ।
कार्यक्रममा प्रशिक्षकका रूपमा उपस्थित जसपा नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पार्टीको संगठनात्मक सुदृढीकरण, आचारसंहिता, राजनीतिक उद्देश्य तथा आगामी निर्वाचन रणनीतिसँग सम्बन्धित विषयमा विस्तृत प्रशिक्षण दिएका छन् । उहाँले नेपालको समसामयिक राजनीतिक परिदृश्य, राजनीतिक दलहरूको भूमिकासम्बन्धी चुनौती तथा दल पतन हुनुका प्रमुख कारणबारे व्याख्या गर्दै पार्टीभित्र आवश्यक सुधारका पक्षहरूमा जोड दिएका छन् ।

अध्यक्ष यादवले “राजनीतिक दलहरूको व्यवस्थापन, कार्यशैली र संगठात्मक कार्यपद्धति ” सम्बन्धी सत्रमार्फत पार्टी नेतृत्वको जिम्मेवारी, जनताप्रतिको व्यवहार, जनताका समस्या पहिचान तथा समाधानमा गर्ने प्रयास, नीतिगत स्पष्टता, आन्तरिक अनुशासन तथा पारदर्शिताका महत्वबारे सहभागीलाई मार्गदर्शन गरेका छन् ।
प्रशिक्षणमा प्रदेशभरिबाट वरिष्ठ नेता, कार्यकर्ता, प्रदेशसभा सदस्य तथा प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले आगामी निर्वाचनको तयारी, जनसंपर्क विस्तार, स्थानीय एजेण्डा पहिचान तथा राजनीतिक प्रतिस्पर्धामा अपनाउने रणनीतिसम्बन्धी विषयमा छलफल गरेका थिए ।
कार्यक्रमको समापन सत्रमा अध्यक्ष यादवले समान अवसर, सामाजिक न्याय र समावेशी लोकतन्त्रलाई केन्द्रमा राख्दै जनतामुखी राजनीति गर्नुपर्ने आवश्यकता दोहो¥याउँदै पार्टीलाई मजबुत रूपमा निर्वाचनमैदानमा उतार्ने प्रतिबद्धता व्यक्त गरेको पार्टीले जनाएको छ।



