जनकपुरधाम, १३ मंसिर । मानव अधिकार संरक्षणका क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले शनिबार एक भेलाबाट प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा आयोजित सञ्जाल गठन तथा अभिमुखीकरण कार्यक्रममा अधिवक्ता राजकुमार महासेठको संयोजकत्वमा २९ सदस्यीय प्रदेश समिति र ११ सदस्यीय सचिवालय समिति गठन गरिएको जानकारी दिइएको छ ।
इन्सेकका प्रदेश संयोजक राजु पासमानका अनुसार आठवटै जिल्लाबाट मानव अधिकार क्षेत्रमै सक्रिय कम्तीमा दुई–दुई जना सहभागी हुने गरी २९ सदस्यीय कार्य समिति बनाइएको हो । साथै सोही कार्य समितिबाट ११ सदस्यीय सचिवालय समिति पनि गठन गरिएको छ । दुवै समितिको संयोजकमा अधिवक्ता राजकुमार महासेठलाई सर्वसम्मत रूपमा चयन गरिएको बताइएको छ ।

त्यसैगरी, चार सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा राष्ट्रिय मानव अधिकार आयोगका मधेश प्रदेश प्रमुख बुद्धनारायण सहनी, अधिवक्ता सुनिल साह, इन्सेक प्रदेश संयोजक राजु पासमान र मिडिया काउन्सिलका पूर्व कार्यवाहक अध्यक्ष कैलास दास रहेका छन् ।
अभिमुखीकरण समापन कार्यक्रममा प्रमुख अतिथि तथा आयोगका प्रदेश प्रमुख बुधनारायण सहनीले मानव अधिकारकर्मीहरूको भूमिका नागरिकको हक–अधिकार सुदृढ गर्न, न्यायमा पहुँच सहज बनाउन र बहिष्कृत समुदायको आवाज बुलन्द बनाउन अत्यन्त महत्वपूर्ण हुने बताएका छन्। उनले मानव अधिकार रक्षक सञ्जालले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक बुझेरी काम गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा अधिवक्ता सुनिल साह, राजकुमार महासेठ, कैलास दास, राजु पासमानलगायतका व्यक्तिहरूले आ–आफ्ना धारणा राखेका थिए ।

