जनकपुरधाम, १४ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले ३५ वर्षसम्म शासन गरेका कांग्रेस–एमालेले देशको शिक्षा, स्वास्थ्य तथा उद्योग–धन्दा (कलकारखाना) क्षेत्र ध्वस्त बनाएको आरोप लगाएका छन्।
आईतवार जनकपुरधाममा समाजवादी युवा संघ नेपालद्वारा आयोजित ‘युवा नेतृत्व र सशक्तिकरण सम्मेलन’मा सम्बोधन गर्दै अध्यक्ष यादवले २०४७ सालदेखि हालसम्म मूलतः एमाले–कांग्रेसकै शासन रहे पनि नेपाली जनता, विशेषतः युवाको भविष्यबारे उनीहरूले कहिल्यै गम्भीर समीक्षा वा छलफल नगरेको बताए । उनले प्रश्न उठाउँदै भने, “नेपालमा १८० वटा कलकारखाना थिए, करोडौँ रुपियाँ राजस्व आउँथ्यो। आज त औँलामा गन्न सकिने बचेको छैन्, किन?”
यादवका अनुसार बहुदलीय व्यवस्थाको ३५ वर्ष बितिसक्दा पनि कांग्रेस–एमालेले देशको आधारभूत क्षेत्र मजबुत बनाउने काम गरेनन् । उनले भने, “नेपालका ७० लाखभन्दा बढी जनता वैदेशिक रोजगारीमा भटकिरहेका छन् । गुणस्तरीय शिक्षा छैन, स्वास्थ्य सेवाको अवस्था पनि दयनीय छ । किन? किनकि निजी अस्पताल, विद्यालय र केही उद्योगहरू कांग्रेस–एमालेका नेताहरूकै स्वामित्वमा छन् । सरकारी सम्पत्तिलाई कमजोर पारेर निजी सम्पत्तिलाई अगाडि ल्याउने काम यही दुई दलले गरेका हुन् ।”
यादवले हरेक आन्दोलनमा युवाले देखाएको बलिदानलाई देशले भूल्न नसक्ने बताए। परिवर्तन र क्रान्ति ल्याउने शक्ति युवा वर्ग नै भएको उल्लेख गर्दै उनले भने, “राजनीतिमा युवाको सहभागिता कम छ । देश हाक्नका लागि युवालाई अवसर दिइएको छैन । त्यसैले राजनीतिक प्रशिक्षण लिएर देशको नेतृत्व गर्न युवाहरू अगाडि आउनुपर्छ ।”
अध्यक्ष यादवले कांग्रेस–एमालेले चार दशकसम्म राज्यसञ्चालन गरेको तर कुनै ठोस परिवर्तन नल्याएको आरोप पनि लगाए । एमाले–काँग्रेस सरकार तलदेखि माथिसम्म भ्रष्टाचारमा छ । भेदभाव चरम सीमासम्म पुगेको छ । कृषि तथा वन–जंगल विनाश भइसकेको छ । यसको प्रभावबारे धेरै भन्नुपर्ने छैन, उनले भने । आगामी निर्वाचनमा भ्रष्टाचार र भ्रष्टाचारीहरूलाई पराजित गर्नु युवा र जनताको जिम्मेवारी हुने उनले बताए ।
मधेश आन्दोलनमा युवाको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै उनले त्यस आन्दोलनले ल्याएको परिवर्तनलाई रक्षा गर्न र युवालाई नेतृत्व तथा सशक्तिकरण गर्न अझै धेरै काम गर्नुपर्ने आवश्यकता औंल्याए। अन्य देशमा भएका युवा आन्दोलनको उदाहरण दिँदै उनले भने, “नेपालको जेन–जी आन्दोलन, बंगलादेशको युवा आन्दोलन जस्ता घटनाबाट यहाँका नेताहरूले सिक्नुपर्छ। युवालाई वेवास्ता गरेर मुलुक कहिल्यै समृद्ध हुन सक्दैन। त्यसैले अबको आन्दोलन र निर्वाचन परिवर्तनका लागि केन्द्रित हुनुपर्छ।”
यादवले नयाँ सोच र चिन्तनका साथ युवालाई अगाडि आउन आग्रह गरे।
समाजवादी युवा संघ नेपालका प्रदेश अध्यक्ष कमलेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद रामअशिष यादव, सुरिता साह, जसपा मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, जिल्ला अध्यक्ष पशुपति यादवलगायतका वक्ताहरूले युवालाई परिवर्तनको मुख्य शक्ति बनेर भूमिकामा उत्रिनुपर्नेमा जोड दिएका छन्।

