जनकपुरधाम २४ मंसिर । भारतको महावाणिज्य दूतावासको आयोजनामा जनकपुरधाममा बुधवार प्रस्तुत गरिएको ओडिसी नृत्यले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको छ ।

सन्ध्या कुञ्जन मेनन दास नेतृत्वको समूहद्वारा प्रस्तुत यो शास्त्रीय नृत्य अद्भुत कलाकारिता, भावपूर्ण अभिव्यक्ति र मनोहारिणी तालले भरिएको थियो । प्रदर्शनले नेपाल–भारतबीचको कला, संस्कृति र धार्मिक सम्बन्ध मात्र होइन, सामाजिक एकताको गहिरो संकेत पनि झल्कायो ।

कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मिनाले दर्शकहरूलाई स्वागत गर्दै दुई देशबीचको धार्मिक तथा सांस्कृतिक परम्पराले सम्बन्धलाई झन् प्रगाढ बनाइरहेको बताएका छन् ।
भाषिक भिन्नता हुँदाहुँदै पनि कथानक–आधारित अभिनय, धार्मिक प्रसंग र सांस्कृतिक प्रस्तुतीकरणले दर्शकहरू ताली बजाउँदै उत्साहित बनेका थिए । करिब डेढ घन्टा लामो कार्यक्रम रामायणकालीन प्रसंग, गोपी–कृष्ण लिला र वृद्ध चरित्रसमेत समेटेर पाँच जना कलाकारहरूले जीवन्त रूपमा प्रस्तुत गरेका छन् ।

ओडिशा राज्यमा जन्मिएको ओडिसी नृत्य प्राचीन देवदासी परम्परादेखि विकसित भएको शास्त्रीय शैली रहेको बताइन्छ । महावाणिज्यदूत मिनाका अनुसार यसको इतिहास करिब दुई हजार वर्ष पुरानो रहेको र उदयगिरि–खण्डगिरि गुफामा भेटिने मूर्तिहरू यसको प्रारम्भिक प्रमाणका रूपमा रहेका छन् । भगवान् जगन्नाथ मन्दिरका महारी अथवा देवदासीहरूले प्रस्तुत गर्ने नृत्यरूप नै आधुनिक ओडिसीको मूल आधार हो ।
ओडिसीको प्रमुख पहिचान त्रिभंगी मुद्रा, चौक भंगिमा, सुन्दर हस्तमुद्रा र आँखाको सजीव अभिनयमा निहित हुन्छ । कृष्ण–राधाका लीला, देवी–देवताको कथा र भक्ति–भावनालाई केन्द्रमा राखी प्रस्तुत गरिने यो नृत्य शैली कोमलता, राग–लय र सौन्दर्यका कारण विशिष्ट मानिन्छ ।

पारम्परिक साडी, सुनौलो आभूषण, घुँघरु र ‘तहीया’ नामक विशेष मुकुटले कलाकारहरूको वेशभूषालाई झनै आकर्षक बनायो। नृत्य सिकाइ मंगलाचारण, बटु, पल्लवी, अभिनय र मोक्षजस्ता चरणमा विभाजित हुने बताइन्छ ।
कार्यक्रममा मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, धनुषाका प्रमुख जिल्ला अधिकारी, डिआईजी, विभिन्न अधिकारी तथा राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति थियो।

