जनकपुरधाम, ६ साउन । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।
बुधबार जनकपुरधाममा नेपाल कम्युनिष्ट पार्टी, मधेश प्रदेशद्वारा आयोजित ‘एकता बैठक तथा प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले मधेश प्रदेश विकास, राजनीतिक तथा सामाजिक हिसाबले चुनौतीपूर्ण भए पनि पार्टी र राष्ट्रका लागि अत्यन्तै महत्वपूर्ण रहेको बताए ।
उनले मधेशमा पार्टीलाई थप संगठित र सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, “मधेशमा राम्रो पार्टी बनाउन सकिएन भने देशले पनि र कम्युनिष्ट आन्दोलनले पनि ठूलो दुर्घटना व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । त्यसैले मधेशमा संगठन विस्तार र एकतालाई प्राथमिकतामा राख्नुपर्छ ।”
प्रचण्डले प्रतिनिधिसभा निर्वाचनअघिसम्म पार्टीको अवस्था सन्तोषजनक रहेपनि अन्तिम समयमा अप्रत्याशित राजनीतिक घटनाक्रमका कारण अपेक्षित नतिजा आउन नसकेको उल्लेख गरे । उनले त्यसबारे पार्टीले गम्भीर समीक्षा गर्ने बताए ।

उनले भने, “निर्वाचनअघि फागुन १५ गतेसम्म पार्टीको अवस्था निकै राम्रो थियो । पराजय भोग्नुपर्ने अवस्था थिएन । तर फागुन १७ देखि २० गतेसम्मको राजनीतिक घटनाक्रमले असाधारण परिस्थिति सिर्जना ग¥यो । त्यसको समीक्षा गरेर कमजोरी सच्याउँदै अगाडि बढ्छौं ।”
पार्टी संगठन विस्तारका लागि नयाँ ढंगले अभियान सञ्चालन गरिने उल्लेख गर्दै उनले युवालाई नेतृत्वमा प्राथमिकता दिने घोषणा गरे । विभिन्न पार्टी समितिमा ५० प्रतिशतसम्म युवाको सहभागिता सुनिश्चित गर्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

प्रचण्डले नेपालका वामपन्थी शक्तिबीच सहकार्य र एकताको प्रक्रिया निरन्तर अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे । वर्तमान राष्ट्रिय तथा राजनीतिक परिस्थितिलाई चुनौतीपूर्ण भन्दै उनले राष्ट्रिय स्वाधीनताको रक्षा र संविधानको कार्यान्वयनका लागि लोकतान्त्रिक तथा परिवर्तनकारी शक्तिबीच सहकार्य आवश्यक रहेको बताए ।
उनले मधेश प्रदेश समितिका पदाधिकारी तथा सदस्यलाई सपथ ग्रहण गराउँदै पार्टी एकतालाई अझ सुदृढ बनाउने लक्ष्य रहेको उल्लेख गरे । “सम्पूर्ण कम्युनिष्ट शक्तिहरूलाई एउटै मोर्चामा ल्याउने समय आएको छ,” उनले भने ।

कार्यक्रममा पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल सहित केन्द्रीय तथा प्रदेश तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो ।



