जनकपुरधाम, ३ पुस । रंगीचंगी बत्ती, कलात्मक मण्डप र जानकी मन्दिरको प्रतिरूपले सजिएको तिरहुतिया गाछी अहिले जनकपुरधामको आकर्षणको केन्द्र बनेको छ । बिहीबार बिहानैदेखि यहाँको साजसज्जा अवलोकन गर्न स्थानीयदेखि बाहिरी आगन्तुकसम्मको भीड लाग्न थालेको छ । चारैतिर मण्डपजस्तै संरचना, बीचमा भव्य मुख्य कार्यक्रम स्थल र त्यसको उपल्लो भागमा जानकी मन्दिरको आकृतिले तिरहुतिया गाछीलाई उत्सवको रंगले ढाकेको छ ।

यही पुस ४ गतेदेखि ७ गतेसम्म यहाँ जेसीआई नेपालको ५२औँ राष्ट्रिय महाधिवेशन आयोजना हुँदैछ । महाधिवेशनमा देशभरका १८६ शाखाबाट करिब चार हजार जेसी सदस्य सहभागी हुनेछन् । यससँगै केही अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको पनि आगमन हुने जेसी जनकपुरधामका पूर्व अध्यक्ष राजु साहले जानकारी दिए ।

आयोजकका अनुसार, जनकपुरधामको सांस्कृतिक, धार्मिक र पर्यटकीय पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महाधिवेशन यहाँ आयोजना गरिएको हो । त्यसैले कार्यक्रमस्थलको साजसज्जादेखि प्रस्तुतिसम्म जनकपुरधामको मौलिक कला, संस्कृति र पहिचान झल्किने गरी तयारी गरिएको छ ।

महाधिवेशनमा सहभागी हुनेहरु धनुषा, महोत्तरी र सिरहासम्मका पर्यटक स्थलहरुमा पुग्ने अनुमान गरिएको छ । महाधिवेशनमा यहाँका पर्यटक स्थलहरुलाई पनि झल्काउने बताइएको छ ।
जनकपुरधाममा जेसीआईको राष्ट्रिय महाधिवेशन पहिलो पटक होइन। सन् १९७७ मा अध्यक्ष लक्ष्मीबहादुर निराला र प्रबन्ध निर्देशक सीताराम सिकारियाको नेतृत्वमा पहिलो पटक यहाँ महाधिवेशन आयोजना गरिएको थियो। त्यसपछि १९९३ मा शम्भु साह, २००३ मा सन्तोष साह र २०१८ मा जितेन्द्र महासेठ अध्यक्ष हुँदा पनि महाधिवेशन जनकपुरधाममै सफलतापूर्वक सम्पन्न भएका थिए। यस पटक पाँचौँ पटक जनकपुरधामले यो गौरव पाएको हो।

तर समयसँगै प्रविधि र प्रस्तुतिको शैली पनि बदलिएको छ । आयोजकहरूका अनुसार, यस पटकको महाधिवेशन अघिल्ला संस्करणभन्दा फरक, नवीन र सन्देशमूलक हुनेछ। करिब तीन विघा क्षेत्रफलमा फैलिएको तिरहुतिया गाछीलाई दुल्हिनझैँ सिँगारेर मात्र होइन, यहाँका लोककला, सांस्कृतिक पहिचान र धार्मिक गौरवलाई प्रत्यक्ष अनुभूति गराउने उद्देश्यसहित कार्यक्रमहरू तय गरिएको छ।

महाधिवेशनको पूर्वसन्ध्यामा नै तिरहुतिया गाछीले जनकपुरधामलाई उत्सवमय बनाएको छ। देशभरबाट आउने जेसी सदस्यहरूको स्वागतका लागि तयार यो स्थल अहिले जनकपुरधामको आत्मा, पहिचान र सम्भावनाको जीवन्त प्रतीक बनेको छ।


