जनकपुरधाम, ६ पुस । पत्रकारिता र साहित्य क्षेत्रमा निरन्तर चर्चा बटुल्दै आएका सुजित कुमार झाको नयाँ मैथिली कृति ‘युगयुग सियागाम’ लोकार्पण गरिएको छ । गुरु–शिष्य संवादमा आधारित यस पुस्तकको लोकार्पण मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी र जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णवले संयुक्त रूपमा गर्नुभएको हो ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री तिवारीले गुरु–शिष्य संवादलाई माध्यम बनाउँदै धर्म र संस्कृतिलाई जनजनसम्म पुर्याउने नवीन प्रयास गरिएको बताउनुभयो । उहाँले समयअनुकूल साहित्यिक विधा र प्रस्तुतीकरणमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै सुजित कुमार झाले त्यस दिशामा सार्थक पहल गरेको धारणा व्यक्त गर्नुभयो ।
“पुस्तकको आवरणले नै गहिरो सन्देश दिन्छ । एउटी महिलाले बालबालिकासँग संवाद गर्दै ज्ञान र संस्कार हस्तान्तरण गरिरहेको चित्रण आफैंमा अर्थपूर्ण छ,” मन्त्री तिवारीले भन्नुभयो ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले मठ–मन्दिर, पोखरी–तलाउ र सांस्कृतिक परम्पराले यस क्षेत्रको पहिचान बनाएको उल्लेख गर्दै ती मूल्य–मान्यतालाई गुरु आमाको माध्यमबाट विद्यार्थीसमक्ष प्रस्तुत गर्नु यस पुस्तकको महत्वपूर्ण विशेषता भएको बताए । उहाँले मैथिली भाषा र साहित्यको प्रवर्द्धनका लागि प्रदेश सरकारले विशेष कार्यक्रम र दीर्घकालीन योजना ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
गुरु–शिष्य संवादमार्फत स्थानीय संस्कृति र सभ्यतालाई बुझाउने प्रयास नै ‘युगयुग सियागाम’ को मौलिकता रहेको सहभागीहरूको भनाइ थियो । पुस्तकमा अनुसन्धान, कथा, संस्मरण र संवादलाई एकै स्थानमा समेटिएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले बालबालिकाको शिक्षण–संस्कारमा महिला शिक्षकको भूमिका अझ प्रभावकारी हुने धारणा पनि व्यक्त गरे ।
लोकार्पण समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजेश कर्ण, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष डा. राजीव झा, मधेश प्रदेश सभाका उपसचिव विपिन ठाकुर, कविर अनाथ आश्रमका सञ्चालक सत्यनारायण आलोक, पर्यावरण अभियानी सुरेश शर्मा, पूर्व केन्द्रीय सदस्य रिंकु गायत्री मिश्र, शिक्षा अभियानी तथा औषधि व्यवसायी संघका अध्यक्ष प्रमोद अग्रवाल, वरिष्ठ पत्रकार एवं उपप्राध्यापक श्यामसुन्दर शशि, उपप्राध्यापक जीतेन्द्र झा, जनकपुर उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष जीतेन्द्रप्रसाद साह, प्याब्सन धनुषाका अध्यक्ष रविन्द्रकुमार चौधरी, निजी विद्यालयका प्रतिनिधि अवधेश तिवारी र डिके चौधरी, कवि काशीकान्त झा, कलाकार–पत्रकार घनश्याम मिश्र तथा राम युवा कमिटीका पूर्व अध्यक्षद्वय परमेश्वर साह र शम्भुप्रसाद शाह ‘प्रेमी’ लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

