काठमाडौँ ११ पुस । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूसँग निर्वाचनबारे छलफल गर्नुभएको छ ।
शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटपछि मन्त्री खरेलले तीनै नेता निर्वाचनको मूल मर्ममा एकमत रहेको बताउनुभयो ।
खरेलका अनुसार देउवाले कांग्रेसको प्राथमिकता संसद् पुनःस्थापना नभई निर्वाचन नै भएको स्पष्ट पार्नुभएको छ । प्रचण्डले पनि निर्वाचनको विकल्प नरहेको भन्दै फागुन २१ मै चुनाव हुनुपर्नेमा जोड दिनुभएको छ ।
एमाले अध्यक्ष ओलीले चुनावबाट भाग्ने प्रश्न नआउने भए पनि भयरहित र सुरक्षित वातावरण सुनिश्चित हुनुपर्ने सर्त राख्नुभएको खरेलले जानकारी दिनुभयो ।
मन्त्री खरेलले सरकारले सुरक्षा व्यवस्था मिलाएर निर्धारित मितिमै निष्पक्ष निर्वाचन गराउन प्रतिबद्ध रहेको दोहोर्याउँदै फागुन २१ मा चुनाव हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।

