कैलास दास
अग्रेजी क्यालेन्डरअनुसार नयाँ वर्षको आगमनसँगै समाजमा उत्सव, मनोरञ्जन र उमङ्गको वातावरण सिर्जना भइसकेको छ । वर्ष परिवर्तनलाई जीवनको नयाँ मोडका रूपमा बुझ्ने मानवीय प्रवृत्तिअनुसार युवादेखि वृद्धसम्म, विभिन्न वर्ग, समुदाय र संघ–संस्थामा आबद्ध व्यक्तिहरू एक साताअघिदेखि नै पिकनिक स्थलको छनोटमा जुट्छन् । स्वादिष्ट भोजन, मिष्ठान्न, संगीत र रमाइलोका कार्यक्रममार्फत “आउने वर्ष यसैगरी सुखमय बितोस” भन्ने आकांक्षा व्यक्त गरिन्छ । पिकनिक अर्थात् वनभोजन नयाँ वर्षलाई मनोरञ्जनात्मक रूपले स्वागत गर्ने एउटा सामाजिक संस्कारजस्तै बनिसकेको छ ।

तर नयाँ वर्ष केवल खानपिन, रमाइलो र क्षणिक हर्षको विषय मात्र हो त ? कि यो आत्मसमीक्षा, सामाजिक मूल्याङ्कन र भावी दिशानिर्देशनको अवसर पनि हो ? यही प्रश्न आजको सन्दर्भमा अत्यन्तै गम्भीर बनेर उभिएको छ ।
नेपालमा परम्परागत रूपमा नयाँ वर्ष विक्रम संवत् अनुसार वैशाख १ गते मनाइन्छ । त्यो दिन कृषिप्रधान समाजमा नयाँ चक्रको सुरुवात, ऋतु परिवर्तन र जीवन पुनर्जागरणको प्रतीक मानिन्थ्यो । तर पछिल्ला वर्षहरूमा हेर्दा वैशाख १ भन्दा अंग्रेजी जनवरी १ ले नेपाली समाजमा बढी उत्साह र आकर्षण पाएको देखिन्छ । यो केवल क्यालेन्डर परिवर्तनको विषय होइन; यो विश्वव्यापी राजनीतिक, आर्थिक र सांस्कृतिक प्रभावको प्रतिफल हो । विश्वमा हुने राजनीतिक स्थिरता, आर्थिक उतारचढाव, युद्ध, शान्ति, समृद्धि वा संकटको प्रत्यक्ष प्रभाव नेपालजस्तो निर्भर अर्थतन्त्र र संवेदनशील समाजमा पर्न जान्छ । यही कारणले जनवरीको नयाँ वर्ष नेपाली जनजीवनसँग अझ गहिरो रूपमा गाँसिन पुगेको छ ।
नयाँ वर्षको उत्सवमा प्रकृतिसँग नजिकिने, खुला आकाशमुनि रमाउने, जीवनको तनाव केही क्षणका लागि बिर्सने मानवीय चाहना स्वाभाविक हो । तर समस्या त्यतिबेला सुरु हुन्छ, जब नयाँ वर्ष केवल बाहिरी उत्सवमा सीमित रहन्छ र भित्री आत्ममन्थन ओझेलमा पर्छ । मानवीय जीवनमा भविष्यप्रतिको चिन्ता स्वाभाविक रूपमा बढी हुन्छ, तर भविष्यको सपना देख्दा भूत र वर्तमानको समीक्षा नगर्ने हो भने त्यो सपना कल्पनामै सीमित हुन्छ ।

हाम्रो जीवन केवल भविष्यको आशामा अडिएको छैन; त्यो भूतकालका अनुभव, वर्तमानका निर्णय र तिनको परिणामको समष्टि हो । राजनीतिक क्षेत्र होस् वा शिक्षा, स्वास्थ्य, रोजगारी, उद्योग, प्राकृतिक संरक्षण वा सामाजिक न्याय, हरेक क्षेत्रमा हाम्रो वर्तमान अवस्था विगतका निर्णय र कार्यहरूको परिणाम हो । विगतमा गरिएका गल्ती, बेवास्ता, असफलता र अन्यायलाई स्वीकार नगरी, तिनको समीक्षा नगरी, केवल “आउँदो वर्ष राम्रो होस” भन्ने कामनाले मात्र भविष्य उज्यालो हुँदैन ।
समृद्धि कुनै आकस्मिक उपहार होइन; त्यो दीर्घकालीन सोच, इमानदार नेतृत्व, संस्थागत सुधार र नागरिक चेतनाबाट जन्मिन्छ । विगतका त्रुटिहरू सच्याउने साहस नगरेसम्म, आफ्नो कमजोरी स्वीकार नगरेसम्म, व्यक्तिगत तथा सामूहिक रूपमा आत्मसुधार नगरेसम्म अस्थिरता समाप्त हुँदैन, न त शान्ति र सुव्यवस्थाको अनुभूति हुन्छ ।
अग्रेजी नयाँ वर्षमा केवल नाचगान र भोजभतेर गरेर रमाउनु पर्याप्त छैन । गएको वर्ष विश्व र देशमा के–के भयो, किन भयो, त्यसबाट हामीले के सिक्यौँ भन्ने प्रश्नको उत्तर खोज्नु अझ महत्वपूर्ण छ । आउने वर्षलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने योजनाबद्ध सोच बिना नयाँ वर्ष केवल मिति परिवर्तनमा सीमित हुन्छ ।
नेपालको सन्दर्भमा सन् २०२५ ले अकल्पनीय र पीडादायी घटनाहरूको शृङ्खला बोकेर आयो । राजनीतिक अस्थिरता अझै टुंगिएको छैन । सरकारप्रति जनआक्रोश घट्नुको सट्टा झन् गहिरिँदै गएको छ । उद्योग–कलकारखाना बन्द हुने क्रम रोकिएको छैन, रोजगारीका अवसर खुम्चिँदै गएका छन्, महँगीले जनजीवन कष्टकर बन्दै गएको छ । विदेश पलायन बाध्यता बनेको छ, र देशभित्र रहेका बेरोजगार युवा आक्रोश र निराशाबीच अल्झिएका छन् ।
सरकार, राजनीतिक दल र जनताबीच हुनुपर्ने विश्वास र सद्भाव कमजोर हुँदै गएको छ । नागरिकले राज्यबाट सुरक्षा, सम्मान र भविष्यप्रतिको स्पष्ट दिशा महसुस गर्न सकेका छैनन् । यस्तो अवस्थामा नयाँ वर्ष केवल उत्सवको बहानामा बिताउनु भनेको यथार्थबाट पलायन गर्नु हो ।
आज आवश्यक छ, विगतको गहिरो समीक्षा । किन राजनीतिक अस्थिरता दोहोरिइरहन्छ ? किन जनताको भरोसा नेतृत्वप्रति कमजोर हुँदै गएको छ ? किन नीति र व्यवहारबीच यति ठूलो दूरी छ ? यी प्रश्नहरूको इमानदार उत्तर खोज्नु नै नयाँ वर्षको साँचो स्वागत हो।
नयाँ वर्षले हामीलाई फेरि एकपटक सोच्ने मौका दिन्छ । हामी कस्तो समाज चाहन्छौँ ? कस्तो राज्य निर्माण गर्न चाहन्छौँ ? र त्यसका लागि व्यक्तिगत रूपमा, सामूहिक रूपमा हामीले के त्याग र के परिवर्तन गर्न तयार छौँ ? जबसम्म नयाँ वर्षलाई आत्मसमीक्षा, सुधार र पुनर्निर्माणको अवसरका रूपमा लिइँदैन, तबसम्म हर्षोल्लास क्षणिक हुनेछ र निराशा दीर्घकालीन ।
अन्ततः नयाँ वर्ष केवल पात्रोमा थपिएको अर्को मिति होइन; यो चेतनामा थपिनुपर्ने नयाँ दृष्टिकोण हो । उत्सव आवश्यक छ, तर उत्सवसँगै उत्तरदायित्व पनि आवश्यक छ । रमाइलोसँगै गम्भीरता पनि चाहिन्छ । यदि हामीले नयाँ वर्षलाई आत्मसमीक्षा र योजनाबद्ध परिवर्तनको आधार बनायौँ भने मात्र शान्ति, सुव्यवस्था र अमनचयनको सपना यथार्थमा बदलिन सक्छ । यही नै नयाँ वर्षको सार्थक अर्थ हो ।

