जनकपुरधाम, १६ पुस । मानव अधिकार सहायता कक्षले हालसम्म हिंसा पीडित २८ जनालाई आर्थिक सहयोग प्रदान गर्नुका साथै न्यायमा पहुँचका लागि विभिन्न निकायमा पहल गरेको छ ।
बुधबार जनकपुरधाममा आयोजित सहायता कक्षको बैठकमा इन्सेकका प्रदेश संयोजक राजु पासमानले उक्त तथ्यांक सार्वजनिक गर्नुभयो । उहाँका अनुसार बलात्कारका १५ जना, बलात्कार प्रयासका ५ जना, यौन दुव्र्यवहारका १ जना, सामूहिक बलात्कारपछि हत्या गरिएका घटनाका २ जना तथा दाइजो र घरेलु हिंसाका ५ जना पीडितलाई न्यायका लागि पैरवी गर्दै आर्थिक सहयोग गरिएको हो ।
संयोजक पासमानले सहयोग प्राप्त गर्ने २८ जनामध्ये ८ जना दलित समुदायका रहेको बताउनुभयो । त्यस्तै १३ जना मधेशी, ५ जना जनजाति तथा २ जना मुस्लिम समुदायका पीडित रहेका छन् ।
मानव अधिकार सहायता कक्षका अध्यक्ष राजकुमार महासेठको अध्यक्षतामा सम्पन्न पाँचौँ बैठकमा इन्सेक प्रदेश संयोजक पासमानले जिल्लागत घटनाको विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार सप्तरीका २ जना, सिरहाका ३ जना, धनुषाका ५ जना, महोत्तरीका ७ जना, सर्लाहीका ९ जना र रौतहटका २ जना गरी विभिन्न जिल्लाका पीडितलाई घटनाको प्रकृतिअनुसार आर्थिक सहयोग तथा न्यायमा पहुँचका लागि निरन्तर पैरवी गर्दै आएको छ ।

